Latest News

चर्चामा रहेको भरतपुर महानगरको मेयरमा लाग्यो टुंगो, खुमलटारमा खुशियाली

Nepalese Times April 12, 2022 (2 Year ago)    3324 Views

सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसको स्थानीय नेतृत्वले यसपटक चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा आफ्नो पार्टीबाट उम्मेदवार हुन पाउनुपर्ने अडान लिइरहेका बेला प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने सत्ता साझेदार नेकपा माओवादी केन्द्रलाई त्यो सिट दिन तयार भएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा हाल मेयर रहेकी छोरी रेणुलाई पुनः अवसर दिइनुपर्ने जिकिर गरिरहेका छन्। सोही कुरा उनले प्रधानमन्त्री देउवासमक्ष राखेपछि देउवा गठबन्धन टुट्ने डरले प्रचण्डको माग पूरा गर्न तयार भएको स्रोतले दाबी गरेको छ।

सोमबार बालुवाटारमा भएको गठबन्धनको बैठकमा अघिल्लो निर्वाचनमा गठबन्धनका जुन दलले जहाँ जहाँ जितेका थिए, त्यो ठाउँ यसपालि पनि उसैलाई दिने सहमति भएको हो। यसले गर्दा भरतपुर महानगर स्वतः माओवादी केन्द्रले पाउने निश्चित भएको स्रोतको दाबी छ।

पार्टीका स्थानीयस्तरका नेता÷कार्यकर्ताले भने महानगरको नेतृत्व कांग्रेसले नलिए विद्रोह गर्ने चेतावनी दिएका छन् ।

‘यसअघि गठबन्धन दलमध्ये जसले जहाँ जितेको छ, त्यसलाई कायम राख्ने भनेपछि भरतपुर स्वतः माओवादीले पाउने निश्चित छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘६ महानगरपालिकामध्ये यसअघि जितेका ललितपुर र विराटनगर कांग्रेसले पाउँछ भने वीरगन्ज जसपाले लिन्छ । एमालेले जितेका काठमाडौं र पोखरा महानगरपालिकामा भागबन्डा हुन बाँकी छ ।’ सम्भवतः काठमाडौंमा कांग्रेस र पोखरा महानगरपालिकामा एकीकृत समाजवादी वा माओवादीमध्ये एकले नेतृत्व पाउनेछन् ।’

यस्तै पाँच दलीय गठबन्धनका शीर्षसहित उच्चस्तरीय राजनीतिक संयन्त्र र निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने भएको हो । बैठकले निर्वाचनमा तालमेलको ‘मोडालिटी’, उम्मेदवार मापदण्ड र प्रक्रियासहितको निर्णय गर्ने गठबन्धनले जनाएको छ ।

गठबन्धनका नेताहरूले सोमबार गठबन्धनले बनाउने उम्मेदवारहरूलाई विजयी बनाउन मतदाताहरूसँग मत मागेका छन् । गठबन्धनसहित निर्वाचनमा जान चाहनुको कारण पनि प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस