Latest News

गठबन्धन बैठक बस्दै, निर्वाचन तालमेलबारे यस्तो छ तयारी

Nepalese Times April 12, 2022 (2 Year ago)    590 Views

काठमाडौं – पाँच दलीय गठबन्धनका शीर्षसहित उच्चस्तरीय राजनीतिक संयन्त्र र निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने भएको हो । बैठकले निर्वाचनमा तालमेलको ‘मोडालिटी’, उम्मेदवार मापदण्ड र प्रक्रियासहितको निर्णय गर्ने गठबन्धनले जनाएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन गठबन्धनमा आबद्ध नेताहरुले अपील गर्दै आएका छन् । यसअघि पनि गठबन्धनमा मोडालिटीबारे विभिन्न प्रस्तावमाथि छलफल हुँदै आएको छ । तर, नेताहरुबीच सहमति भने जुट्न सकिरहेको छैन । उक्त विषय टुंग्याउन आज बैठक बस्न लागेको हो ।

गठबन्धनका नेताहरूले सोमबार गठबन्धनले बनाउने उम्मेदवारहरूलाई विजयी बनाउन मतदाताहरूसँग मत मागेका छन् । गठबन्धनसहित निर्वाचनमा जान चाहनुको कारण पनि प्रष्ट पारेका छन् ।

यसअघि आइतबारसम्म चारपटक निर्वाचन तयारी तथा अनुगमन समितिले तालमेलको ‘मोडालिटी’बारे छलफल गरेको थियो ।

पालिका, जिल्ला र प्रदेशस्तरमा गठन गरेको गठबन्धनको संयन्त्रले पठाएको प्रतिवेदन र सुझावको आधारमा मोडालिटीबारे समितिले छलफल गरेको हो ।

प्रतिक्रिया दिनुहोस