Latest News

ज्वालामुखी ६ को अध्यक्षमा एकीकृत समाजवादीबाट मात्रै १० जनाको दाबेदारी (सूचीसहित)

Nepalese Times April 12, 2022 (2 Year ago)    1325 Views

काठमाडौं । बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावका लागि देशभर सरगर्मी बढेको छ । हरेक पालिकामा राजनीतिक गतिविधि बढेको छ ।

एकीकृत समाजवादीको राम्रो दबदबा रहेको धादिङको ज्वालामुखी गाउँपालिका ६ को अध्यक्षमा समाजवादीबाट मात्रै १० जनाले दाबेदारी प्रस्तुत गरेका छन् ।

नेकपा एमाले विभाजित भएपछि एकीकृत समाजवादीमा लागेकाहरुमध्ये वडा अध्यक्षमा दाबी प्रस्तुत गर्ने मात्रै १० जना रहेका हालका वडा अडा अध्यक्षसमेत रहेका एकीकृत समाजवादीका नेता अर्जुन अर्यालले बताए ।

उनका अनुसार ज्वालामुखी ६ मा वडा अध्यक्षका लागि जुना रानामगर, सूर्य बुर्लाकोटी, ठाकुर बुर्लाकोटी, तेजबहादुर अर्याल, डिलबहादुर मगराती, सूर्यबहादुर श्रेष्ठ, चन्द्रमान किसान, डिलबहादुर धमला, तोरण कुमारी न्यौपाने र उद्धव तिमल्सेना रहेका छन् ।

यस्तै धादिङका गठबन्धन दलहरूले वडा तहसम्मै चुनावी तालमेल गर्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरूको संयुक्त बैठकले जिल्लाका १३ वटै पालिका, १०४ वटै वडा र जिल्ला समन्वय समितिसम्म तालमेल गरेर जाने निर्णय गरेका हुन् ।

धादिङका १०४ वटै वडामा गठबन्धनबाट साझा उम्मेदवार उठाउने निर्णय भईसकेकाले आन्तरिक होमवर्क गर्नको लागि बैठकले गठबन्धन दलका दुई दुई जना रहने गरि कार्यदल समेत गठन गरेको छ ।

बैठकले गठबन्धन दलको संयुक्त सचिवालय धादिङवेशीमा खोल्नेसहित बिभिन्न ८ बुँदे निर्णय गरेको छ । गठबन्धन दलहरुबीच आरोप पत्यारोप नगर्न र एक अर्को सदस्य वा मतदातालाई आफ्नो पार्टीमा प्रवेश गराउन नपाईने समेत निर्णय गरेको छ ।

कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीको अध्यक्षमा बसेको बैठकमा माओवादी केन्द्रबाट शालिकराम जम्कटेल, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे, जनता समाजवादीबाट राजु नेपाललगायत चारै दलका प्रभावशाली नेताहरु सहभागी थिए ।

यस्तै निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । निर्वाचन आयोगले चैत ३ गते निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको थियो। उक्त आचारसंहिताको एक बुदाँमा भने सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

वहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो। आयोगले सामाजिक सञ्जालदेखि उम्मेद्वार र अन्यलाई निर्वाचनमा गर्न नपाउने व्यवस्था समावेश गरेर आचारसंहिता जारी गरेको छ।

केही दिनअघि आयोगले निर्वाचनमा भाग लिने दलहरुसँग प्रतिबद्धता जनाउन छलफल पनि गरेको थियो। आचारसंहिता लागेपछि सरकारले सरुवा बढुवालगायत निर्णय गर्न पाउने छैन।

आयोगले जारी गरेको ६० बुँदे निर्देशनमा चुनाव प्रचारप्रसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न पाइने उल्लेख गरिएको छ । ‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारको कार्यक्रम गर्दा विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने’, आयोगको निर्देशनमा भनिएको छ ।

यस्तै आयोगले अनुमति बिना चुनावी कार्यक्रम गर्न रोक लगाएको छ। आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस