Latest News

एमाले प्रवेश गर्ने ‘मुकुन्दे’ को तयारी, के गर्लान् ओली ?

Nepalese Times April 12, 2022 (2 Year ago)    678 Views

काठमाडौं । सामाजिक सञ्जालमा उटपटाङ अभिव्यक्ति दिएर भाइरल बनेका मुकुन्द घिमिरे उर्फ मुकुन्दे नेकपा एमाले प्रवेश गर्ने चाहना राखेका छन् ।

अनेक नयाँ फण्डा सार्वजनिक गर्दै चर्चामा आएरहने उनी यसपटक एमालेमा प्रवेश गरेर राजनीति सुरु गर्ने ईच्छा आफूसँग रहेको आफू नजिकका व्यक्तिहरुलाई बताउन थालेका छन् ।

उनले आइतबार फेसबुकमा स्टाटस लेख्दै काठमाडौं क्षेत्र नम्बर ४ बाट संसदीय चुनाव लड्ने तयारी गरेको घोषणासमेत गरेका छन् ।

अब आफूलाई संसदमा पुगेर बोल्न कसैले रोक्न नसक्ने भन्दै उनले बेजिल्लाबाट उठ्नलाई गृहजिल्लाको मतदाता नामावलीको प्रमाणितप्रति चाहिने र अघिल्ला चुनावहरूमा साथमा नभएको आफ्नो दस्तावेज अहिले उपलब्ध भएको बताएका छन् ।

संघीय संसदका लागि काठमाडौं क्षेत्र नम्बर ४ मा आफूले उम्मेदवारी दिने उनले बताए । यसमा नेकपा एमालेको साथ रहने र त्यो पनि हुन नसके स्वतन्त्र उम्मेदवारी दिनेगरी आफूले तयारी गरिरहेकोसमेत उनले बताए ।

काठमाडौं(४ कांग्रेसका महामन्त्री गगन थापाले चुनाव जितेको क्षेत्र हो । चर्चित हस्तीको क्षेत्रबाट चुनाव लड्ने भनेर मुकुन्देले आफूलाई चर्चामा ल्याउन खोजेको धेरैको अनुमान छ ।

विगतमा आफूले प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी गर्दा प्राविधिक कारणले रोकिएको तर यसपाली नरोकिने उनको भनाइ छ ।

उनले भने, ‘पहिला पनि धेरै कोशिस गरेको प्रचण्डविरुद्ध उठ्नलाई । २०७० सालमा किर्तिपुरमा प्रचण्डविरुद्ध लड्ने तयारी गरेको थिएँ । तर अर्को जिल्लाबाट उम्मेदवार दिँदा मतदाता नामावलीसँगै छुट्टै चिठी आउन पर्ने रहेछ सम्बन्धित जिल्लाबाट । त्यो नहुँदा म रोकिएँ । अहिले त्यो पेपर प्राप्त भएको छ । अब कुनै राष्टिय स्तरको खराब मान्छेलाई चुनौती दिनुपर्ने छ ।’

आफ्नो चुनावी एजेण्डा मुकुन्दल्याण्ड बनाउने रहेको भन्दै उनले त्यसमा आफ्नो मुख्य लक्ष्य भनेको भोजपुर र काठमाडौंलाई रेलले जोड्ने रहेको बताए । पार्टी दर्ता गर्ने प्रक्रिया नपुगेको भन्दै उनले कोरम नपुगेकोले अहिले स्वतन्त्र उम्मेदवार बन्ने बताए ।

चर्चाको लागि त गगन थापाले नै प्रचण्डसँग उठ्छु कि कोसँग उठ्छु भन्दै आएका भन्दै उनले भने, ‘मैले त प्रचण्डसँग नै पहिल्यै उठ्न खोजेको तर त्यही कागज नहुँदा उठ्न पाइनँ । बामदेवसँग उठ्न खोज्दा उनी राष्ट्रियसभाको बाटो भागे । उनीसँग नि उठ्न पाइनँ । पोखरामा उठ्न खोज्दा रविन्द्र अधिकारीकी रोइरहेकी श्रीमतीसँग उठ्न चाहिनँ मैले ।’

प्रतिक्रिया दिनुहोस