Latest News

राप्रपा प्रवक्ता श्रेष्ठ तनहुँमा खटिए, विस्तारित बैठक बसेर घरदैलो अभियान सुरु

Nepalese Times April 11, 2022 (2 Year ago)    648 Views

दमौली । राप्रपाले आज देशका ७७ वटै जिल्लामा स्थानीय तहको निर्वाचनलाई लक्षित गरि जनताको माझमा राप्रपा कार्यक्रम र घरदैलो अभियान प्रारम्भ गरेको छ ।

बारामा आयोजित आमसभालाई सम्बोधन गर्न कलैया पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव लक्षित कार्यक्रमको पनि शुभारम्भ गरे । पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिले तय गरेको केन्द्रीय कार्यक्रमलाई राप्रपाले तराई मधेसमा पुगेर शुभारम्भ गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राप्रपाले अभियान सञ्चालनलाई उच्च महत्व दिदै ७७ वटै जिल्लामा पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यलाई केन्द्रीय प्रतिनिधि खटाएको थियो । यसक्रममा राप्रपा तनहुँले सदरमुकाम तनहुँमा पार्टीको विस्तारित बैठक गर्दै घरदैलो अभियानको शुभारम्भ गरेको छ ।

केन्द्रीय प्रतिनिधिको रुपमा तनहुँमा खटिएका पार्टीका प्रवक्ता मोहन श्रेष्ठ र केन्द्रीय सदस्य दिनेश कार्कीको उपस्थितिमा भएको विस्तारित बैठकमा जिल्लाको समग्र संगठनको अवस्था, स्थानीय तहका उमेदवार छनौट, टोल समिति, बुथ कमिटी निर्माण लगायतका विषयमा छलफल भएको छ भने जिल्ला अन्तर्गतका नगर र गाउँपालिकाले प्रतिवेदन पेश गरेका छन् ।

विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले जनताको परिवर्तनको चाहनालाई राप्रपाले सम्बोधन गर्नुपर्ने इतिहासको महत्त्वपूर्ण कार्यभार भएको बताएका छन् । श्रेष्ठले चुनाव जित्न सक्ने र नसक्ने ठाउँको वर्गीकरण गरि जित्न नसक्ने ठाउँको मत खेर नफाल्ने गरि रणनीति बनाउनुपर्नेमा जोड दिएका छन् ।

लोकप्रिय मत पार्टीले जम्मा गर्नुपर्ने भन्दै प्रवक्ता श्रेष्ठले हेलचक्रयाइँ गर्न नहुँने बताए । यसैगरी केन्द्रीय प्रतिनिधि केन्द्रीय सदस्य दिनेश कार्कीले महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको राप्रपामा नेतृत्व र पार्टी प्रति दिनप्रतिदिन आकर्षण बढिरहेको र जनताको आकर्षणलाई भोटको शक्तिमा रुपान्तरण गर्न आवश्यक रहेको बताएका छन् ।

विस्तारित बैठक पछि राप्रपाले सदरमुकाम दमौली बजारमा घरदैलोको शुरुआत गरेको छ । त्यस अवसरमा स्थानीय तहले निर्वाचनमा राप्रपालाई मतदान गर्न अपिल गरिएको राप्रपाको पत्र स्थानीयलाई वितरण गरिएको थियो ।

त्यस अवसरमा राप्रपाले चुनाव लक्षित नारा लगाउदै बजार परिक्रमा गरेको थियो । राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले आज जिल्लामा शुभारम्भ गरिएको घरदैलो तथा चुनाव लक्षित कार्यक्रमलाई सबै स्थानीय तहसम्म सञ्चालन गरिने र आगामी चुनावमा राप्रपाले केही स्थानमा बिजय प्राप्त गर्ने र अधिकांश स्थानमा सम्मानजनक परिणाम ल्याउने पार्टीले तयारी गरिरहेको बताएका छन् ।

विस्तारित बैठक र घरदैलोमा केन्द्रीय प्रतिनिधि प्रवक्ता श्रेष्ठ, केन्द्रीय सदस्यहरु कार्की, गौमाया श्रेष्ठ, गण्डकी प्रदेश कार्यसमितिका सदस्यहरु, राप्रपा तनहुँका पदाधिकारी, सदस्यहरु, भातृ संगठनका नेताहरू, सबै स्थानीय तहका अध्यक्ष तथा अगुवा कार्यकर्ता हभागी थिए ।

प्रतिक्रिया दिनुहोस