Latest News

महानगरपालिकामा चुनावी तालमेल : ३ महानगर कांग्रेसलाई, भरतपुर कसको भागमा ?

Nepalese Times April 11, 2022 (2 Year ago)    1402 Views

काठमाडौं । सत्तारुढ दलहरुबीच महानगरपालिकामा साझा उम्मेदवारी चयन गर्नेबारे मोटामोटी सहमति भएको छ । ५० प्रतिशत महानगरपालिका कांग्रेसले लिने र बाँकी ५० प्रतिशत महानगरपालिकामा अरु दलहरुबाट साझा उम्मेदवार चयन गर्नेगरी सहमति जुटेको स्रोतले जनाएको छ ।

सत्तारुढ दलहरुबीचको सहमति अनुसार नेपाली कांग्रेसको भागमा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र विराटनगर महानगरपालिका परेको छ । यी ३ महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार साझा उम्मेदवारको रुपमा रहनेछन् ।

बाँकी महानगरपालिकामध्ये भरतपुर महानगरपालिकामा माओवादी केन्द्रको उम्मेदवारलाई साझा उम्मेदवार बनाउन छलफल चलिरहेको छ । यो महानगरमा नेपाली कांग्रेसले पनि दाबी प्रस्तुत गर्दै आएकोले साझा उम्मेदवार छान्न सकस भइरहेको छ ।

भरतपुर महानगरपालिकामा अहिले नेकपा माओवादी केन्द्रको तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल मेयर छिन् । उनले फेरि मेयर पदमा एकपटक दोहोरिने इच्छा देखाएकी छिन् ।

तर, चितवन कांग्रेसले औपचारिक निर्णय गर्दै भरतपुर आफूहरुले छाड्न नसकिने भनेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तनावमा छन् । उनले रेनुलाई साझा उम्मेदवार बनाउनका लागि प्रधानमन्त्री देउवासँग बारम्बार छलफल गरिरहेका छन् ।

यस्तै सत्ता गठबन्धनमा रहेका दलहरुबीचको मोटामोटी सहमति अनुसार पोखरा महानगरपालिकाको साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीले पाउने भएका छन् ।

वीरगन्ज महानगरपालिका भने जनता समाजवादी पार्टी (जसपा) को भागमा परेको छ । कुन महानगरपालिमा कसको उम्मेदवारलाई साझा उम्मेद्वार बनाउने भन्नेबारे मोटामोटी सहमति भए पनि निर्णय भने भइसकेको छैन ।

साझा उम्मेदवार तय गर्नकै लागि सत्तारुढ दलका शीर्ष नेताहरुबीचको बैठकले प्राथमिकता पाएको छ । सोमबार पनि सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकपछि सत्तारुढ दलका शीर्ष नेताहरुले स्थानीय तह निर्वाचनमा देशैभर तालमेल गर्न अपिल जारी गरेका छन् ।

प्रधानमन्त्रमी निवास बालुवाटारमा बैठक बसेलगत्तै शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा वैशाखमा हुने स्थानीय चुनावमा देशैभर गठबन्धन गर्न अपिल गरिएको हो ।

देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका नेता तथा कार्यकर्ताहरुलाई विज्ञप्तिमार्फत नेताहरुको अपिल छ ।

उनीहरूले भनेका छन्, ‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनानवमा आपसी सहकार्य र परस्पर सहयोगी भावनाले अगाडि बढ्न पाँच दलका साथीहरूलाई आहृवान गर्दर्छौं ।’

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जसपा नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले चुनावी तालमेलको अपिलमा हस्ताक्षर गरेका छन्।

उनीहरूले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउनसमेत अपिल गरेका छन्। साथै उनीहरूले विगतका मतभेदलाई पन्छाउँदै अघि बढ्न पनि आग्रह गरेका छन्।

वैशाख ३० मा हुने स्थानीय चुनावमा तालमेल गरेर जाने निर्णयसमेत उनीहरूको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जसपाका वरिष्ठ नेता अशोककुमार राई र राजमो उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त अपिल जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस