Latest News

राजीनामा दिनुपर्ने चर्को दबाबपछि अन्ततः अर्थमन्त्री शर्माले केहीबेरमा पत्रकार सम्मेलन गर्दै

Nepalese Times April 11, 2022 (1 Year ago)    1430 Views

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अहिले ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि विभिन्न रुपमा आलोचना खेपेका अर्थमन्त्री शर्माले केहीबेरमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका हुन् ।

अर्थतन्त्रमा आवश्यक काम गर्न नसकेको भन्दै अर्थमन्त्री शर्मामाथि राजीनामा दिनुपर्ने दबाबसमेत आइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ दलका नेताहरुले नै अर्थमन्त्री शर्माले राजिनामा दिनुपर्ने दबाब दिइरहेका छन् ।

हिजोमात्रै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले पत्रकार सम्मेलन गरेर अर्थमन्त्री शर्मामाथि गम्भीर आरोप लगाएका थिए ।

उनीहरुले अर्थमन्त्री शर्माकै कारण मुलुकको आर्थिक अवस्था यो हालतमा पुगेको बताएका थिए । अर्थमन्त्री शर्माले आजको पत्रकार सम्मेलनमार्फत मुलुकको अहिलेको आर्थिक अवस्थाबारे पनि प्रकाश पार्ने जनाईएको छ ।

एमालेले मुलुकको आर्थिक अवस्था बिग्रनुमा अर्थमन्त्रीको दोष भए पनि गभर्नरलाई निलम्बन गरिएकोमा आपत्ति जनाउँदै आएको छ। गभर्नर महाप्रसाद अधिकारीलाई गत बिहीबारको मन्त्रिपरिषद बैठकले निलम्बन गर्ने निर्णय गरेको थियो। त्यसपछि सरकारको व्यापक आलोचना हुँदै आएको छ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गर्नुको कारणबारे स्पष्टीकरण दिएका छन् । उनले अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरलाई कारबाही गर्नु परेको स्पष्टीकरण दिएका हुन् ।

सरकारले शुक्रबार गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएको थियो । त्यससँगै अधिकारी स्वतः निलम्बनमा परेका छन् ।

सोमबार सत्तारुढ दलहरुको बैठकमा नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थतन्त्रको संकट र गभर्नरमाथि थालेको कारबाहीबारे प्रश्न गरेका थिए । गभर्नरमाथि थालिएको कारबाहीको चौतर्फी आलोचना भएको छ ।

प्रधानमन्त्री देउवाले भने अर्थमन्त्रीलाई असहयोग गरेका भनेको कारण कारबाही गरेको बताएका छन् । उनका अनुसार आफूलाई काम गर्न नदिएको र आफूले गरेका सबै काममा असहयोग गरेको अर्थमन्त्रीको गुनासो थियो ।

सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री देउवाले ‘अर्थमन्त्रीजी आफूलाई गभर्नरले एकदम धेरै असहयोग गर्‍यो भनेको भन्दै यस्तो बेलामा गभर्नरले सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस