Latest News

गठबन्धन बैठकमै प्रचण्डले राखे छोरी रेनुलाई साझा उम्मेदवार बनाउने प्रस्ताव, के गर्लान् देउवा ?

Nepalese Times April 11, 2022 (2 Year ago)    1135 Views

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल चितवनको भरतपुर महानगरपालिकाकी मेयर छिन् । उनले यो पटक पनि भरतपुर महानगरपालिकामा दोहोरिन चाहिरहेकी छिन् ।

५ वर्षअघिको स्थानीय तहको चुनावमा नेपाली कांग्रेससँगको तालमेलमा मेयरमा विजयी भएकी रेनुले अहिले पनि आफू सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्ने दाउमा छिन् । तर, यो विषयमा कांग्रेस चितवन मान्न तयार छैन ।

चितवन कांग्रेसले औपचारिक निर्णय गरेर नै यसपटक आफूहरुले मेयर पद छाड्न नसक्ने भनिसकेको छ । चितवन कांग्रेसका नेताहरुले केन्द्रीय नेताहरुलाई नै भेटेर आफूहरुले मेयर पद छाड्न नसक्ने भन्दै पत्र बुझाए ।

चितवन कांग्रेसको अडानका कारण अप्ठ्यारोमा पर्ने देखेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनको बैठकमै एकपटक भरतपुर महानगरको साझा उम्मेदवार रेनुलाई बनाउन प्रस्ताव अघि सारेका छन् ।

सोमबार प्रधनमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भरतपुरबासीले पनि एकपटक रेनुलाई नै मेयरमा उठाउनुपर्ने आवाज उठाएकोले यो पटक रेनुलाई सहयोग गर्न गठबन्धन बैठकमा भनेका बैठकमा सहभागी एक नेताले बताए ।

यो विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीले स्पष्ठ जवाफ दिएनन् । यसबारे अर्को बैठक बसेर निर्णय गरिने र सकेसम्म आफूले मिलाउने प्रयास गर्ने र अन्तिम अवस्थामा चितवन कांग्रेसले मानेन भने माओवादीले पनि लचकता अपनाउनुपर्ने हुन सक्ने प्रधानमन्त्री देउवाले जवाफ दिएका थिए ।

सोमबारको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकपतिछ स्थानीय तह निर्वाचनमा देशैभर तालमेल गर्न अपिल जारी भएको छ । प्रधानमन्त्रमी निवास बालुवाटारमा बैठक बसेलगत्तै शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा वैशाखमा हुने स्थानीय चुनावमा देशैभर गठबन्धन गर्न अपिल गरिएको हो ।

देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका नेता तथा कार्यकर्ताहरुलाई विज्ञप्तिमार्फत नेताहरुको अपिल छ ।

उनीहरूले भनेका छन्, ‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनानवमा आपसी सहकार्य र परस्पर सहयोगी भावनाले अगाडि बढ्न पाँच दलका साथीहरूलाई आहृवान गर्दर्छौं ।’

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जसपा नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले चुनावी तालमेलको अपिलमा हस्ताक्षर गरेका छन्।

उनीहरूले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउनसमेत अपिल गरेका छन्। साथै उनीहरूले विगतका मतभेदलाई पन्छाउँदै अघि बढ्न पनि आग्रह गरेका छन्।

वैशाख ३० मा हुने स्थानीय चुनावमा तालमेल गरेर जाने निर्णयसमेत उनीहरूको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जसपाका वरिष्ठ नेता अशोककुमार राई र राजमो उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त अपिल जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस