Latest News

विवेकशील साझाले तोक्यो काठमाडौै महानगरको मेयर र उपमेयरको उम्मेदवार, को हुन् बाँस्कोटा ?

Nepalese Times April 11, 2022 (11 Month ago)    540 Views

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत विवेकशील साझा पार्टीले काठमाडौै महानगरको मेयर र उपमेयर दुवै पदमा महिला उम्मेदवार बनाउने भएको छ।

पार्टीका प्रवक्ता शरदराज पाठकले सोमबार बिहान जारी गरेको विज्ञप्तिअनुसार काठमाडौंमा मेयर पदमा समीक्षा बाँस्कोटा र उपमेयर पदमा कीर्ति तुलाधरलाई उमेदवार बनाउने निर्णय गरिएको हो।

देशको राजधानीमा दुई महिला उम्मेदवार अघि सार्ने निर्णय आजै बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले गरेको उनले जानकारी दिएका छन्।

विज्ञप्तिअनुसार समीक्षा बाँस्कोटा विवेकशील साझा पार्टी, बागमती प्रदेशकी पूर्वसंयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन्। ३८ वर्षीय बाँस्कोटाले काठमाडौं स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छन्। उनी गत निर्वाचनमा काठमाडौं क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेकी थिइन्। त्यसबेला उनले २७ प्रतिशत मत ल्याएर तेस्रो स्थान हासिल गरेको विवेकशील साझा पार्टीले जनाएको छ।

यस्तै कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन्। उनी नेपाल जेसिजकी आजसम्मका तीनजना महिला राष्ट्रिय अध्यक्षमध्ये एक हुन्। उनी अन्तर्राष्ट्रिय जेसिजको पनि दक्षिण एसियाबाटै पहिलो महिला उपाध्यक्ष हुन्। शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीया तुलाधर हाल विभिन्न संघ–संगठनको नेतृत्वदायी भूमिकामा छिन्।

दुवै उम्मेदवारले छिट्टै पत्रकार सम्मेलन गरेर संयुक्त घोषणापत्र सार्वजनिक गर्ने विवेकशील साझा पार्टीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस