Latest News

रेनुलाई भरतपुर छाड्न आग्रह गर्दै मध्यरातमा देउवालाई प्रचण्डको फोन, अरु के–के भयो कुराकानी ?

Nepalese Times April 11, 2022 (2 Year ago)    1103 Views

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट को उम्मेदवार बन्ने भन्ने चासो बढेको छ । भरतपुरमा विशेषगरी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफूखुशी चुनावी अभियान सुरु गरिसकेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल फेरि एकपटक मेयर बन्ने दाउमा रहेकी र नेपाली कांग्रेसले पनि कुनै पनि हालतमा आफूहरुले भरतपुरमा छाड्न नसक्ने अडान लिएपछि यो महानगरपालिका अहिले विशेष चासोको रुपमा हेरिएको छ ।

भरतपुर कांग्रेसले नै भरतपुरमा कांग्रेसलाई नछाड्ने हो भने तालमेल नगर्ने भनेर औपचारिक निर्णय नै गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेका छन् ।

उनले देउवासँग भने, – ‘भरतपुरमा कांग्रेसको जिल्ला समितिले कुनै पनि हालतमा नछाड्ने भनेर निर्णय नै गरिसकेको रहेछ, तपाईले केन्द्रबाट त्यसैअनुसारको दबाब दिनुपर्यो । माओवादीले भरतपुर महानगरको टिकट नपाउने हो भने त हामी कांग्रेससँग गठबन्धन गर्दैनौँ ।’

जवाफमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवाले आफूले साथिहरुको चित्त बुझाउने काम गरिरहेको र अहिले नै चुनावी तालमेल भत्काउने कुरा नगर्न भनेका थिए । उनीहरुबीच स्थानीय तहसहित संघीय चुनावमा समेत केन्द्रबाटै उम्मेदवारी बाँडफाँड हुनुपर्ने र केन्द्रबाटै हस्तक्षेप हुनुपर्ने भन्नेबारेसमेत कुराकानी भएको स्रोतले जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवालाई फोन गरेलगत्तै कांग्रेसले तत्काल उम्मेदवार तय नगर्न भन्दै नयाँ सर्कुलरसमेत जारी गरेको छ । कांग्रेसले सबै जिल्ला समितिलाई अहिले नै उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरेको हो ।

कांग्रेसले केन्द्रीय तहमा सत्ता साझेदार दलबीच गठबन्धनको मोडालिटी बन्दै गरेका कारण तत्काल उम्मेदवार नतोक्न जिल्ला समितिलाई निर्देशन दिएको हो ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने विधानअनुसार उम्मेदवार चयन गर्न आवश्यक पर्ने सबै काम समयसीमाभित्रै गर्न भनिएको तर निर्णय भने तत्काल ‘होल्ड’ गर्न निर्देशन गरिएको जानकारी दिए ।

यस्तै नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छ । नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार हुने घोषणा भएको हो ।

चितवन क्षेत्र नम्बर २ ख बाट बागमती प्रदेशसभामा विजयी सुवेदीलाई एमालेले मेयरको उम्मेदवार बनाउन लागेको एमाले स्रोतले जनाएको छ ।

मेयरको उम्मेदवारको नाम सिफारिस गर्न एमालेको भरतपुर महानगरपालिका कमिटीको बैठक आइतबार बसेको छ । सो बैठकले मेयरमा सर्वसम्मत रुपमा सुवेदीको नाम सिफारिस गर्ने भरतपुर महानगर कमिटीका एक पदाधिकारीले बताए ।

सुवेदी सर्वसम्मत रुपमा मेयरमा सिफारिस गर्न २०७४ सालका मेयरका उम्मेदवार देवी ज्ञवालीको प्रस्ताव गर्ने र सांसद कृष्णभक्त पोखरेलले समर्थन गर्ने तयारी छ ।

सांसद सुवेदी अष्टलक्ष्मी शाक्य बागमती मुख्यमन्त्री हुँदा सामाजिक विकास मन्त्री भएका थिए । भरतपुर महानगरपालिका(१२ का स्थायी वासिन्दा उनले एमाले चितवनको पार्टी प्रमुख भएर तीन कार्यकाल नेतृत्व सम्हालेका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ । शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष माधव नेपालको नेतृत्वमा १ हजार १ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी बनाएको हो ।

जसमा केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, जिल्ला अध्यक्षहरु, जनसंगठनका केन्द्रीय पदाधिकारीहरु रहने छन्।

त्यस्तै महासचिव बेदुराम भुसालको संयोजकत्वमा प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहेको निर्वाचन परिचालन केन्द्रीय सचिवालय पनि गठन गरिएको एकीकृत समाजवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस