Latest News

चुनावी तालमेलको विरोध गर्दै कांग्रेसका नेताहरूले निकाले यस्तो विज्ञप्ति

Nepalese Times April 11, 2022 (11 Month ago)    1289 Views

काठमाडौं । केन्द्रमा सत्तारुढ दलहरुबीच चुनावी तालमेल गर्ने सहमति भएपनि नेता तथा कार्यकर्ताहरुले भने यसको विरोध गर्न थालेका छन् ।

नेपाली कांग्रेस जुम्लामा चुनावी तालमेल गर्न नहुने आवाज उठेको छ। असन्तुष्ट पक्षले वैशाखमा हुने स्थानीय चुनावमा कांग्रेस एक्लै अघि बढ्नुपर्ने माग गरेका छन्।

कांग्रेसले निर्वाचनमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने उनीहरूले निकालेको विज्ञप्तिमा उल्लेख छ। चैत २२ र २३ गते बसेको जिल्ला कार्यसमिति बैठकमा पनि गठबन्धन नगर्ने निर्णय भएको थियो।

तर सभापति कर्णबहादुर शाहीले केन्द्रको निर्देशनअनुसार गठबन्धन गरेर जाने निर्णयमा हस्ताक्षर गरेपछि उपसभापति, सचिवलगायत कार्यसमितिका पदाधिकारीले नै विरोध गरेका छन्।

उपसभापतिहरू कार्मा बुढा र दीपक शाही, सचिव लक्ष्मण शाही र अर्जुन सिंह कठायत, सहसचिवहरू नन्दप्रसाद चौलागाईं र धनेन्द्र बोहरा र क्षेत्रीय सभापतिहरू लछिमन बोहरा र कालीबहादुर बुढाले कांग्रेसले गठबन्धन नभई एक्लै चुनावमा जानुपर्ने भन्दै विज्ञप्ति निकालेका हुन्।

चैत २६ मा कांग्रेस सभापति कर्णबहादुर शाही, नेकपा माओवादी केन्द्रका संयोजक वीरबहादुर कुँवर र नेकपा एकीकृत समाजवादीका अध्यक्ष तीर्थबहादुर बुढाले चुनावी तालमेल गर्ने निर्णय गरेका थिए।

केन्द्रको निर्देशनअनुसार जुम्लामा पालिका र वडा तहसम्म गठबन्धन गरेर जाने निर्णयसहितको विज्ञप्ति जारी भएपछि कांग्रेसभित्र विरोध भएको हो।

प्रतिक्रिया दिनुहोस