Latest News

करिश्मा मानन्धरलाई मेयरको उम्मेदवार बनाउने एमालेको यस्तो तयारी

Nepalese Times April 10, 2022 (2 Year ago)    842 Views

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रमुख दलहरू उम्मेदवार तय गर्न आन्तरिक रूपमा गृहकार्य गरिरहेका छन् ।

सबै दलले स्थानीय तहको वस्तुस्थितिको मूल्यांकनसहित सम्भावित प्रमुख, उपप्रमुख, वडाध्यक्षको उम्मेदवारको नाम पार्टीलाई सिफारिस गरिसकेका छन् ।

ललितपुरको गोदावरी नगरपालिकामा मेयर को बन्ला भन्ने चर्चा सुरु भएको छ । गत स्थानीय तहको निर्वाचनमा गोदावरीमा मेयर र उपमेयरका साथै बहुमत वडाध्यक्ष नेपाली कांग्रेसले जितेको थियो ।

मेयरमा गजेन्द्र महर्जन र उपमेयरमा मुना अधिकारी निर्वाचित भएका थिए । महर्जन यसपटक पनि उम्मेदवारी दिने गरी चुनावी तयारीमा जुटेका छन् ।

कांग्रेसबाट विमलचन्द्र विष्ट र पुरुषोत्तम सिलवालको पनि मेयरमा उठ्ने चर्चा छ। पाँच वर्षमा योजना र ऐन–नियम तर्जुमाका धेरै काम भएकाले अर्को कार्यकालमा नगरपालिकाका भौतिक पूर्वाधार र पर्यटन विकासका लागि आफूले फेरि उम्मेदवारी दिने तयारी गरेको मेयर महर्जनले बताए।

गोदावरी नगरपालिकाको मेयरमा अभिनेत्री करिश्मा मानन्धरको पनि चर्चा छ। उनी हालै एमाले प्रवेश गरेकी हुन्।

ललितपुरको प्रतिनिधिसभा १ मा संघीय सांसदमा समेत करिश्माको नाम चर्चामा आउन थालेको छ । तर, एमाले उच्च स्रोतका अनुसार करिश्मालाई मेयरमा उठाउन सके एमालेले चुनाव जित्ने आकलन गरिएको छ ।

गोदावरी टौखेलस्थित करिश्माको घरमा जिल्लाका नेताहरूले केही दिनदेखि उम्मेदवार कसलाई बनाउने भन्नेबारे छलफल गर्दै आइरहेका छन्।

पार्टीले उम्मेदवार बनाएको खण्डमा चुनाव लड्न आफू तयार रहेको मानन्धरले बताइन् । गोदावरीमा एमालेका तर्फबाट गम्भीरबहादुर राना, रघुनाथ महर्जन, प्रदेश सांसद चेतनाथ सञ्जेल र मधुसूदन पौडेलको चर्चा छ।

पार्टीभित्रको छलफलपछि उम्मेदवारको टुंगो लाग्ने सांसद सञ्जेलले बताए। उनले पार्टीको सल्लाहअनुसार आफूलाई उम्मेदवार बनाए चुनाव लड्न तयार रहेको पनि बताए।

गोदावरीमा माओवादी केन्द्रबाट कलाकार राज घिमिरे र न्हुच्छेंबहादुर महर्जनको चर्चा छ। ‘चपली हाइट’ चलचित्रका अभिनेता घिमिरे फिल्म पेसा छाडेर व्यवसाय तथा सामाजिक कार्यमा संलग्न रहँदै आएका छन्।

यसपटकको चुनावमा उम्मेदवार बन्ने तयारीसहित प्रचारप्रसारमा लागेको कलाकार घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस