Latest News

एकीकृत समाजवादीले चुनावबारे गर्यो यस्तो निर्णय, यस्ता छन् उम्मेदवार छान्ने मापदण्ड र सिफारिस प्रक्रिया

Nepalese Times April 10, 2022 (2 Year ago)    534 Views

एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको सिफारिस एवं निर्णय गर्ने समय तालिका निर्धारण गरेको छ।

सचिवालयको २०औं बैठकले यस्तो निर्णय गरेको हो। पार्टी केन्द्रले वडा तह हुँदै आएका सिफारिसलाई आधार मानेर वैशाख ८ गतेभित्र उम्मेदवारको टुंगो लगाइसक्ने भएको छ। वडा कमिटीले चैत्र ३० गतेभित्र सिफारिस गरिसक्नुपर्ने छ। यस्तै, पालिका कमिटीले आगामी वैशाख २ गतेभित्र निर्णय र सिफारिस गरिसक्नुपर्ने छ।

त्यस्तै, जिल्ला कमिटीले वैशाख ४ गतेभित्र निर्णय र सिफारिस गरिसक्नुपर्ने, प्रदेश कमिटीले आगामी वैशाख ६ गतेभित्र निर्णय र सिफारिस गरिसक्नुपर्ने छ। त्यसपछि केन्द्रीय कमिटीले आगामी वैशाख ८ गतेभित्र निर्णय गरिसक्ने समय तालिका निर्धारण गरिएको छ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले पाँच दलीय गठबन्धन अन्तर्गत आफूले भाग पाएका स्थानबाट मात्रै उम्मेदवारी सिफारिस लिने भएको छ।

समाजवादीको चैत २६ र २७ मा बसेको केन्द्रीय सचिवालयको २० औँ बैठकले निर्वाचन परिचालन कमिटी गठन गर्दै यस्तो निर्णय लिएको हो। बैठकपछि महासचिव वेदुराम भुसालले आइतवार जारी गरेको विज्ञप्तिमा यसो भनिएको हो।

‘गठबन्धन गर्दा हामीले पाएको स्थानमा सिफारिस भई आएका नाममध्येबाट उम्मेदवार चयन गरिने छ’, उनले भनेका छन्, ‘गठबन्धनका अन्य दललाई परेका स्थानमा हाम्रा उम्मेदवार रहने छैनन्।’

यस्ता छन् मापदण्ड
१. पार्टी नीति र कार्यक्रमप्रति प्रतिवद्ध रहेको। २. पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेको। ३. पार्टीप्रतिको निष्ठा र अनुशासनमा दृढ। ४. आर्थिक एवम् नैतिक आचरण राम्रो रहेको। ५. जनतामा स्थापित एवम् लोकप्रिय। ६. स्वच्छ छवि भएको र सुशासनको पक्षपाती। ७. कार्यक्षमता राम्रो भएको। ८. समावेशीतालाई ध्यान दिने, सिफारिस एवम् निर्णय प्रक्रिया निर्धारण।

सिफारिस प्रक्रिया
समाजवादीले आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्ने प्रकृया पनि तय गरेको छ।

१. वडा सदस्यको लागि पार्टी वडा कमिटीको सिफारिसमा पालिका कमिटीले निर्णय गर्ने।

२. वडा अध्यक्षको लागि पार्टी वडा कमिटी र पालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले निर्णय गर्ने।

३. गाउँ पालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको लागि पार्टी पालिका कमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने।

४. महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको लागि पार्टीको सम्बन्धित पालिका कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने।

५ . कुनै निर्णय विवादित भएमा एक तह माथिल्लो कमिटीले छानविन गरी फैसला गर्ने।

६. सिफारिस गर्ने क्रममा सर्वसम्मति भएमा सोही नाम पठाउने र सर्वसम्मति नभएमा आकांक्षीमध्ये कम्तिमा एक महिलासहित तीन जनाको नाम पठाउने।

७. उम्मेदवारसम्बन्धी निर्णय सकेसम्म कमिटीको पूर्ण बैठकबाट गर्ने, पूर्ण बैठक बस्न सम्भव नभएमा सचिवालयको बैठकबाट गर्ने।

८. गठबन्धन गर्दा हामीले पाएको स्थानमा सिफारिस भई आएका नाममध्येबाट उम्मेदवार चयन गरिने छ, अन्य दललाई परेका स्थानमा हाम्रा उम्मेदवार नराखिने।

प्रतिक्रिया दिनुहोस