Latest News

महन्थ ठाकुरको विश्वासपात्र यी चर्चित केन्द्रीय नेता नेपाली कांग्रेस प्रवेश

Nepalese Times April 10, 2022 (1 Year ago)    1524 Views

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रभावशाली युवा नेता कृष्णा सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पार्टी प्रवेश गराएका हुन् । उनलाई गृहमन्त्री बालकृष्ण खाणले पनि पार्टीमा स्वागत गरेका थिए ।

बालुवाटारमा लोसपा परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गर्दा उनलाई कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवसमेतले स्वागत गरेका थिए ।

महन्थ ठाकुरले नेतृत्व गरेको तराई मधेश लोकतान्त्रिक पार्टीका संस्थापक नेता रहेका उनी तराई मधेश युवा फ्रन्टका केन्द्रीय अध्यक्षसमेत भइसकेका थिए । महोत्तरीबाट प्रतिनिधित्व गर्ने सिंह लोसपाका केन्द्रीय सदस्य थिए ।

उनले पार्टीको सहप्रवक्ताको भूमिका निर्वाह पनि गरेका थिए । त्यसपछि राष्ट्रिय जनता पार्टी राजप० नेपालमा उनी प्रवक्तासमेत भएका थिए ।महन्थ ठाकुर निकट उनी राजनीतिक विचारको लाइन नमिलेपछि कांग्रेसमा प्रवेश गरेको सिंहले बताए ।

यस्तै एमाले, माओवादी केन्द्र र राप्रपाबाट १०० भन्दा धेरै व्यक्ति नेपाली कांग्रेस प्रवेश गरेका छन् । काठमाडौंको टोखा नगरपालिका ८ कार्यसमितिले गरेको कार्यक्रमको अवसरमा कांग्रेस महामन्त्री गगन थापाले एमाले, माओवादी केन्द्र र राप्रपाबाट आएका १०० भन्दा धेरैलाई स्वागत गरेका हुन् ।

कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीका सबै नेता तथा कार्यकर्तालाई कांग्रेसले नेतृत्व गरेको सरकारका बेलामा भएका कामहरुको फेहरिस्त लिएर जनतामा जान आग्रह गरेका छन् ।

थापाले सबै नेता तथा कार्यकर्ताहरूलाई कांग्रेसले गरेका कामको प्रचार गर्न आग्रह गरेका हुन् । उनले कांग्रेसको घरमा आउने सबैलाई कांग्रेसले स्वागत गर्ने बताएका छन् ।

उनले यसले थप तागत र मजबुत बनाउने उल्लेख गर्र्दै अबको डेढ महिनामा जनताले निर्वाचनमा दल रोज्न र फेर्न पाउने बताए । नेता थापाले कांग्रेसले जनता सामु गरेका वाचा सबै पूरा गरेको दाबी गर्दै भने, ‘जनताले कांंग्रेसलाई किन रोज्ने हामीले घर–घर गएर बुझाउनुपर्छ । पाँच वर्षमा के–के भयो मूल्यांकन गर्नुपर्छ । स्थिति अहिले निकै फरक छ । नेपाली कांग्रेसले जनतासँग गरेको वाचा पूरा गरेको छ । २०७४ को घोषणापत्र फर्केर हेरौं । स्थिरता दिन्छु भन्नेहरूले के–के गरे, हामी सबैलाई थाहा छ ।’

उनले एमसीसीसीमा कम्युनिस्टहरू बेइमान बनेको फेहरिस्त सुनाए । देशले ऋण, अनुदान र सहयोग लिन्छ भन्दै उनले कांग्रेस नक्कली राष्ट्रवादी होइन भने ।

उनले जसले टिकट ल्याए पनि कांग्रेसका साथीहरूले एकले अर्कालाई सघाउनुपर्ने भन्दै भने, ‘अन्तरघात भगवानले देख्छन्, घात गर्नु पाप हो ।’क्षेत्र नं ६ का सांसद तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले कांग्रेसको इतिहास सम्झाउँदै राजतन्त्र फाल्ने र कम्युनिस्टहरूलाई मुलधारमा कांगेसले नै ल्याएको बताए ।

प्रतिक्रिया दिनुहोस