Latest News

अर्थमन्त्री जनार्दन शर्मामाथि खनिए तीन पूर्वअर्थमन्त्री, कसले-के भने ?

Nepalese Times April 10, 2022 (2 Year ago)    582 Views

काठमाडौं – नेकपा एमालेका नेता एवं तीन पूर्वअर्थमन्त्रीहरूले अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वथा गलत निर्णय लिएको बताएका छन्।

मुलुकको पछिल्लो अर्थतन्त्रबारे आइतबार पत्रकार सम्मेलन गर्दै विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाले यस्तो बताएका हुन्।

‘वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ–समूहको व्यावसायिक स्वार्थ पूरा गर्न नपाएको, अर्थतन्त्र सम्हाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठवन्धन भित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दबाबमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कारबाही गरिएकोमा कुनै शंका छैन,’ उनीहरुले भनेका छन्।

अघिल्लो सरकारबाट नियुक्त भएकै कारण व्यावसायिक रुपमा दक्ष र इमानदार राष्ट्रसेवकहरू यो सरकारको कोपभाजनमा परेका दर्जनौं घटना रहेको उनीहरूले बताएका छन्।

गठबन्धन सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले अहिले अर्थतन्त्रमाथि खेलबाड गरिरहेको उनीहरुको टिप्पणी छ। ‘गठबन्धनले आर्थिक स्थायित्व, विकास र सुशासनविरोधी आफ्नो सक्कली रुप देखाएको छ,’ उनीहरुले भनेका छन्।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले गम्भीर अपराध गरेको आरोप लगाएका छन्। नेपालमा विदेशबाट अवैधरुपमा भित्रिएको पैसा छुटाउन खोजेको भन्दै उनले अर्थमन्त्री शर्माले जेलै जाने अपराध गरेको दाबी गरेका हुन्।

‘अर्थमन्त्रीले गरेको काम अपराध नै हो। यही केसमा अर्थमन्त्रीलाई भित्र हाल्दिनुपर्ने हो’, पाण्डेले भने, ‘अर्थमन्त्रीले किन राष्ट्र बैंकलाई पत्र लेखेको हो?’अर्थतन्त्रको चिन्ता जाहेर गर्ने गभर्नरलाई सरकारले निलम्बन गरेको पनि उनको आरोप छ।

यो सरकारले वैदेशिक मुद्रा सञ्चितिमा परेको चाप कम गर्न केही वस्तुको आयातमा कडाइ गर्न खोज्ने गभर्नरलाई हटाएको पनि उनले बताए।

विष्णु पौडेलले आफू अर्थमन्त्री हुँदा (अध्यादेशमार्फत्) ल्याइएको बजेट किन संशोधन गरिएको भन्दै सरकारलाई प्रश्न गरेका छन्। त्यसको जवाफ वर्तमान सरकारले दिनुपर्ने पनि उनको भनाइ छ।

एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले तत्कालीन समयमा सरकारले लोकप्रिय र कार्यान्वयन हुनुका साथै समृद्धितर्फ अग्रसर हुने बजेट ल्याएको, तर शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारले त्यसलाई संशोधन गरेको उनले बताए।

‘हामीले सामूहिक र लोकप्रिय बजेट ल्यायौं। तर, अहिलेको सरकारले अकारण उक्त बजेटमा प्रहार गर्‍यो,’ पौडेलले भने, ‘त्यसको विरुद्धमा प्रतिस्थापन विधेयक ल्याउनुपर्ने कारण थिएन। सरकारले लिएर आयो, तर त्यसले अर्थतन्त्र नकारात्मक अवस्थामा ल्याउने काम गर्‍यो।’

युवराज खतिवडाले सरकारका मन्त्रीहरू अर्थतन्त्र जोगाउने भन्दा कमाउ धन्दामा लिप्त रहेको आरोप लगाएका छन्। एमालेले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आरोप लगाएका हुन्।

‘सरकारका मन्त्रीहरू कमाउन धन्दामा लिप्त हुने, ठेक्का–पट्टामा सेटिङमा सीमित हुने देखिएको छ’, उनले भने ‘आफूले गर्न नसकेपछि कर्मचारीमाथि जाइलाग्ने क्रम जारी नै छ। मन्त्रीहरू निर्वाचनका लागि स्रोत चाहियो भनेर खुल्लम खुल्ला पैसा माग गरिएका छन्।’

प्रतिक्रिया दिनुहोस