Latest News

एकीकृत समाजवादीका उपाध्यक्ष एमालेमै फर्किए

Nepalese Times April 10, 2022 (2 Year ago)    868 Views

काठमाडौं– नेकपा एकीकृत समाजवादी कञ्चनपुरका जिल्ला उपाध्यक्ष रवीन्द्र कुँवर पुनः नेकपा एमालेमै फर्किएका छन्।

आइतबार एक कार्यक्रमबीच कुँवर एमालेमा प्रवेश गरेका हुन्। एमाले विभाजनपछि कुँवर एकीकृत समाजवादीमा लागेका थिए।

आइतबार एमालेका सचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टसँग भेट गरी उनी एमालेमा नै फर्किएका हुन्।

अत्तरियास्थित आफ्नै निवासमा भट्टले कुँवरलाई एमालेमा स्वागत गरेका हुन्। कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका कुँवर कार्यकर्ता माझ बलियो पकड रहेका जिल्लास्तरीय नेता हुन्।

यस्तै दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा नेकपा एमालेमा फर्किएका छन् ।

२०७४ सालको निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी पार्टी विभाजित हुँदा नेकपा एकीकृत समाजवादीतिर लागेका थिए ।

नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटी सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज रहेका उनलाई माले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले स्वागत गरेका हुन् ।

विभिन्न वडाका जनप्रतिनिधिहरु सेतु खडका, कमला खत्री, मान बहादुर नेपाली, बाल बहादुर थापा, सुशिला विकलगायत १२५ जना एमालेमा प्रवेश गरेका प्रदेश सभा सदस्य सुशिल थापाले बताए ।

उनले एमालेमा फर्किएसँगै भने, ‘म मूलघरमै फर्किएको छु । लामो समय लगानी गरेको दल त्यागेर समाजवादीमा जानुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना गरिएको थियो । अब एमालेमै फर्केर जनताको सेवामा खट्छु ।’

पार्टी प्रवेशपछि उनले भने, ‘एमाले नै जनताको वास्तविक साथी भएको र एमालेकै नेतृत्वमा सुखी नेपाली समृद्ध नेपाल बन्ने पक्का छ । त्यसैले केही दिन बाटो बिराए पनि मूलघरमै आज फर्किएको हो ।’

प्रतिक्रिया दिनुहोस