Latest News

चुनाव सर्ने हल्लापछि देउवालाई ओलीको फोन, के–के भयो कुराकानी ?

Nepalese Times April 10, 2022 (2 Year ago)    1651 Views

काठमाडौं । स्थानीय तहको चुनाव आउन १ महिना मात्रै बाँकी रहँदा चुनावको मिति सर्ने समाचारले फेरि चर्चा पाएको छ । सत्तारुढ गठबन्धनले चुनावको मिति सार्ने तयारी गरेको खबर बाहिरिएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरेका छन् ।

स्थानीय तहको निर्वाचनको मिति सार्ने तयारी भएको भनेर चर्चा सुरु भएकोमा यसको यथार्थबारे बुझ्न ओलीले प्रधानमन्त्री देउवालाई फोन गरेका उनी निकट स्रोतले जनाएको छ ।

झण्डै ५ मिनेट भएको कुराकानीमा ओलीले देउवालाई प्रश्न गरे, ‘हामी यति धेरै अघि बढिसक्यौँ, अहिले फेरि चुनावको मिति सार्ने कुरा चल्दै छ र तपाईहरुको गठबन्धनमा, कुरा के हो ?’

यस्तै उनले कुनै बहानामा निर्वाचनको मिति सार्ने प्रपन्च भएमा एमालेलाई मान्य नहुँनेसमेत देउवासँग भनेका थिए । जवाफमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा निर्वाचनको मिति नसर्ने भएकोले ढुक्क हुन भनेका थिए ।

प्रधानमन्त्री देउवाले निर्वाचन आयोगले आवश्यक तयारी गरिसकेकोले अब कुनै पनि हालतमा पछि हट्न नसक्ने र यो या त्यो बहानामा निर्वाचनको मिति नसर्ने बताए उनी निकट एक नेताले बताए । यस्तै ओली र देउवाबीच गभर्नरलाई निलम्बन, राजदुत सिफारिसलगायत विषयमा पनि कुराकानी भएको थियो ।

चुनावी तालमेल गर्ने निर्णय गरेको सत्ता गठबन्धनले उम्मेदवार चयनका क्रममा समस्या आउने र धेरै ठाउँमा विवाद निस्कने देखिएपछि चुनावको मिति नै सार्ने तयारी भएको भनेर केही दिनअघि समाचार सार्वजनिक भएको थियो ।

विश्वस्त स्रोतका अनुसार तीनै तहको चुनाव एकैपटक कात्तिक या मंसिरमा गर्नेबारे बालुवाटारले छलफल थालेको थियो ।

गठबन्धन गरेर चुनावमा जाँदा काँग्रेसभित्र टिकट नपाउनेहरुले विद्रोह गर्ने घटना विकास हुँदै गएपछि देउवा सतर्क भएका हुन् । स्वतन्त्र या अन्य दलबाट उम्मेदवार बन्ने तयारीमा काँग्रेसका कतिपय नेता कार्यकर्ताले तयारी थालेका छन् ।

काँग्रेसभित्र उम्मेदवार बन्न नपाउनेहरुले गर्ने विद्रोहलाई सबैभन्दा बढी एमाले, राप्रपा र लोसपाले अवसरका रुपमा हेरेर बसेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली स्थानीय तहमा बलियो पकड भएका तर टिकट नपाउनेहरुलाई पार्टीमा ल्याएर टिकट दिने रणनीतिमा छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि काँग्रेसमा रहेर टिकट नपाउनेहरुलाई पार्टीमा भित्राएर टिकट दिने गरी पूर्व तयारीमा छन् । यसले काँग्रेसमा ठूलै पहिरो जाने रिपोर्टहरु बालुवाटार र सानेपामा पुग्न थालेको छ । यसकारण पनि स्थानीय चुनाव पछि धकेल्ने तयारीहरु भइरहेका छन् ।

यस्तै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तह निर्वाचनमा भाग लिन पाउने वातावरण बनाउन निर्वाचन आयोगसमक्ष आग्रह गरेको छ ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सहितको टोलीले विहीबार आयोगका पदाधिकारीलाई भेटेर निर्वाचनमा भाग लिने वातावरण बनाइदिन आग्रह गरेको हो ।

प्रकाण्डले आफ्नो पार्टीलाई निर्वाचनमा भाग लिनका लागि मतदाता नामावलीमा नेता कार्यकर्ता नै नरहेकाले नामावलीमा समावेश हुने अवसर मागेको छ । त्यस्तै दल दर्ताका लागि पनि प्रकाण्डले समय मागेका छन् ।

आफ्नो पार्टीका नेता कार्यकर्ता जेलमा रहेकाले उनीहरू पनि रिहा भएर निर्वाचन प्रक्रियामा भाग लिन पाउनुपर्ने विप्लव नेतृत्वको नेकपाको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस