Latest News

महानगरपालिकाको मेयरमा चर्चित ‘डन’ पर्शुराम बस्नेत एमालेबाट सिफारिस

Nepalese Times April 10, 2022 (1 Year ago)    1132 Views

काठमाडौं, २७ चैत्र । नेकपा एमालेले पूर्व क्षेत्रमा डनका रुपमा चर्चित पर्शुराम बस्नेत विराटनगरको मेयरमा सिफारिस गरेको छ ।

उनलाई विराटनगरपालिकाको मेयरमा उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय भएको एमालेले जनाएको छ । उनी अन्य ४ सहित नाम सिफारिस भएका हुन् ।

बस्नेत गुण्डागर्दीका कारण विवादमा आइरहन्छन् । उनको विराटनगरलगायत आसपासका क्षेत्रमा ठूलै सञ्जाल छ । एमालेको प्रदेश खेलकुद परिषद्को उपाध्यक्ष समेत बनेका पर्शुराम बस्नेत लामो समय युवा संघमा रहेर काम गरे । उनी कुनै बेला महेश बस्नेतसँग निकट थिए ।

पर्शुराम बस्नेतको समूहले पूर्वका विभिन्न व्यवसायमा संगठित रुपमा प्रभाव बनाउँदै आएको छ । उक्त समूह आपराधिक क्रियाकलापमा लागेको विषय पनि चर्चामा आउने गरेको छ ।

यसअघि एमालेबाट विराटनगरको मेयर बन्ने चर्चामा आएका पूर्वमन्त्री लालबाबु पण्डितको नाम सिफारिशमा समेत परेन । उनले मेयरमा बढ्ने इच्छा देखाएका थिए ।

देशका ठूूला दल महाधिवेशनमा होकिएको बेला देशको राजनीतिमा एउटा डरलाग्दो दृश्य देखिएको छ । पैसा नभएकाहरु पार्टीभित्रैपनि राजनीति गर्न नसक्ने अवस्थामा पुगेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस तथा माओवादी केन्द्र तीनै पार्टीमा डन तथा माफियाहरुको पकड बलियो हुँदै गएको छ ।

खासगरी नेपाली कांग्रेसमा डन पृष्ठभूमिका व्यक्तिहरु पार्टीमा शक्तिशाली भएका छन् । स्याङजाको सभापतिमा निर्वाचिन राजु थापा कुनै समय काठमाडौंमा गुन्डागर्दीमा संलग्न रहेको प्रहरीको रेकर्डमा छ । पैसाकै वलमा राजनीतिमा लागेका उनी यसअघि सांसद भइसकेकोमा अहिले जिल्ला सभापति भएका छन् ।

कांग्रेसको काभ्रे सभापतिमा निर्वाचन तीर्थ लामालाई पनि कुनै समय प्रहरीले काभ्रेली समूहको सूचीमा राखेको थियो । तर, उनी भने आफूले कहिल्यै गुन्डागर्दी नगरेको बताउँछन् । आफ्ना प्रतिद्वन्द्वीलाई भारी मतअन्तरले हराउँदै उनी जिल्ला सभापति बनेका छन् । यसअघि नै उनी प्रतिनिधि सभामा निर्वाचित भइसकेका छन् । जिल्लामा निरन्तर सक्रियताले काभ्रे कांग्रेसमा उनी सबैभन्दा प्रभावशाली नेता बनेका छन् ।

गुन्डागर्दी पृष्ठभूमि भएका धेरै जना काभ्रे कांग्रेसमा शक्तिशाली भएको नेताहरुले बताएका छन् । गणेश लामा महाधिबेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनी यसअघि कांग्रेसबाट प्रदेश सांसदको उम्मेदवार बनिसकेका थिए ।

त्यस्तै, दावा लामा सल्ले भुम्लु गाउँपालिकाको सभापति भएका छन् । पैसाकै भरमा उनी कांग्रेसमा प्रवेश गरेको छोटो अवधिमै सो पदमा पुग्न सफल भएका हुन् । काभ्रे प्रहरीले संकलन गरेको सूचीअनुसार विगतमा गुन्डागर्दीको आरोपमा पक्राउ परेका करिब एक दर्जन व्यक्तिहरु हाल नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बनेका छन् ।

ललितपुर कांग्रेसको सभापतिका उम्मेदवार मीनकृष्ण महर्जनलाई पनि कुनै समय प्रहरीले गुन्डागर्दीकै सूचीमा राखेको थियो । इन्सपेक्टरमाथि नै कुटपिटको अभियोग लागेका उनी पछिल्ला वर्ष निरन्तर कांग्रेसमा सक्रिय छन् । चापागाउँ क्षेत्रको अवैध क्रसरबाट उनले कमाएको पैसा राजनीतिमा लगाएको उनका प्रतिस्पर्धीहरु बताउँछन् ।

पछिल्लो समय गुन्डागर्दीमा सक्रिय सगुन श्रेष्ठ सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको अध्यक्ष भएका छन् । गुन्डागर्दीकै बलमा उनी अध्यक्ष बनेको प्रतिस्पर्धी नेताहरुले बताएका छन् । विभिन्न किसिमका अपराधिक गतिविधिमा उनी पटक पटक पक्राउ परेका व्यक्ति हुन् ।

सुनसरी जिल्ला पुरै डन समूहको कब्जामा पुगेको छ । हेमकर्ण पौडेल, सिजन गुरुङ, भिम गुरुङ लगायत अहिलेको अधिवेशनमा निर्वाचित भएका छन् ।

काठमाडौंका पुराना डन राजु गोर्खाली पनि कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका छन् । यसअघि एमाले निकट रहेका उनी त्यहाँ पद नपाएपछि कांग्रेसमा लागेका हुन् ।

त्यस्तै राधे भण्डारी धादिङ कांग्रेसको राजनीतिमा सक्रिय छन् । पोखराका एलजी समूहका नाइके ललित गुरुङ पनि चुनाव उठेकोमा हारे । हाल उनी तरुण दलका नेता छन् ।

प्रतिक्रिया दिनुहोस