Latest News

प्रचण्डका भाइ दाहाल राष्ट्रियसभा सदस्यमा मनोनित

Nepalese Times April 8, 2022 (1 Year ago)    757 Views

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायण प्रसाद दाहाल राष्ट्रियसभा सदस्यमा मनोनीत भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सदस्यमा दाहाललाई मनोनित गरेकी हुन् ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम दाहाललाई मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले बताए ।

दाहाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका काकाका छोरा हुन् भने उनी पार्टीको केन्द्रीय सदस्य पनि छन् । यसअघि उनी संविधानसभा सदस्य पनि भइसकेका थिए । नेकपा एकता कालमा उनी पार्टीको बागमती प्रदेश कमिटी अध्यक्ष थिए ।

माओवादीभित्र प्रचण्डबाट बढी अवसर पाउने नेतामा उनी पर्छन् । रामनारायण बिडारीको अवधि सकिएपछि रिक्त रहेको पदमा उनी मनोनीत भएका हुन् ।

यस्तै सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।\

यस्तै सरकारले देशलाई आर्थिक संकटबाट बचाउन भन्दै हप्ताको दुई दिन सार्वजनिक विदा दिने सैद्धान्तिक निर्णय गरेको छ । राष्ट्र बैंकले हप्ताको दुई दिन सरकारी कार्यालय बन्द गरेर आर्थिक संकटको सामना गर्न सरकारलाई सुझाएको थियो ।

बिहिबार बसेको मन्त्रिपरिषद्ले राष्ट्र बैंकले दिएको सुझाव अनुसार हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सैद्धान्तिक निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले सरकारी खर्चमा २० प्रतिशत कटौती गर्ने समेत निर्णय गरेको छ । त्यही निर्णय कार्यान्वयनका लागि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

कुन कुन दिन विदा दिने र यसको कार्यान्वयनका सन्दर्भमा भने थप छलफल गरेर ठोस निर्णय लिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । मन्त्रिपरिषद्को निर्णय कार्यविधि बनाएर एक हप्ताभित्र कार्यान्वयमा ल्याउने मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

यस्तै सरकारले हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत नेपाली नागरिकलाई दक्षिण कोरिया पठाउने सम्बन्धी समझदारीपत्र नवीकरण गर्ने निर्णय भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सम्झौता नवीकरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । सरकारले ईपीएसमार्फतबाट वर्षेनी दक्षिण कोरियामा नेपाली कामदार पठाउँदै आएको छ ।

उनले नेपाल दूरसञ्चार कम्पनीका प्रबन्ध निर्देशकमा सुनील पौडेललाई नियुक्त गर्ने निर्णय भएको पनि बताए । प्रतिस्पर्धाद्वारा उपयुक्त भएर उनलाई नियुक्त गरिएको कार्कीले बताए ।

बैठकले चीनसहित विभिन्न २० देशमा राजदूत नियुक्त गर्ने निर्णय भएको पनि कार्कीले बताए । यसैगरी मन्त्रिपरिषद् बैठकले पश्चिम सेती करिडोर आयोजनका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाउने, श्रम अदालतको अध्यक्षमा उच्च अदालत विराटनरगर, ओखलढुंगाका इजलासका न्यायाधीश वाशुदेव आचार्यलाई नियुक्त गर्ने, वैदेशिक रोजगार न्यायीकरणको अध्यक्षमा रवि शर्मा अर्याललाई नियुक्त गर्ने निर्णय पनि भएको छ । यसैगरी सैनिक विशेष अदालतको अध्यक्षमा महेश प्रसाद पुडासैनीलाई तोक्ने लगायतका निर्णय पनि भएका छन् ।

बैठकले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा प्रशासकीय अदालतका पूर्व अध्यक्ष काशीराज दाहालालाई र सदस्यमा केशवराज आचार्यलाई नियुक्ती तथा मनोनयन गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नियमित पत्रकारसम्मेलनमार्फ जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस