Latest News

एकीकृत समाजवादीका सबै मन्त्रीले राजीनामा दिने, कांग्रेसका यी नेताहरु मन्त्री बन्दै

Nepalese Times April 8, 2022 (2 Year ago)    841 Views

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम सरकारमा सहभागी हुने भएपछि नेकपा एकीकृत समाजवादी बाहिरिने भएको छ ।

कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्ने तयारीसँगै समाजवादीले सरकारबाट बाहिरिने निष्कर्ष निकालेको हो ।

समाजवादीबाट मन्त्री भएकाहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिने तयारी गरेको प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीको भनाइ छ ।

केन्द्रिय गठबन्धनले सहमती गरेपछि मन्त्री फेरबदल गर्ने तयारी भएको थियो । समाजवादीका सुदूरपश्चिममा ४ मन्त्री र ३ राज्य मन्त्री छन् ।मन्त्रीहरुले सामूहिक राजीनामा दिएपनि मन्त्रिमण्डल पूनर्गठनका क्रममा फेरि सहभागी हुन सक्ने बताइएको छ ।

कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला र गोविन्द बोहोरा सामाजिक विकासमन्त्री हुनेछन् । टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बन्नेछन् ।

स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागु हुनुअघि कांग्रेस दुई मन्त्री र एक राज्यमन्त्री लिएर प्रदेश सरकारमा सहभागी हुने भएको हो । काँग्रेस दुई मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको सरकारका प्रवक्ता समेत रहेकी कानुन मन्त्री पूर्णा जोशी जानकारी दिइन् ।

गत बिहीबार बसेको गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागिताबारे छलफल भएको थियो । त्यतिबेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल टर्की हुँदा विषयले मूर्तरूप पाएको थिएन ।

नेपाल टर्कीबाट फर्किएपछि मंगलबार बसेको बैठकमा सुदूरपश्चिममा काँग्रेसलाई सरकारमा सहभागी गराउने विषयमाथि छलफल भएको थियो ।

मंगलबार बसेको गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागीबारे ठोस सहमति भएको बताइएको छ । जसअनुसार आजै मन्त्रिमण्डल पुनर्गठनको तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस