Latest News

ललितपुर महानगरः यी हुन् कांग्रेसबाट मेयरका आकांक्षी

Nepalese Times April 8, 2022 (2 Year ago)    627 Views

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै ललितपुर महानगरपालिकामा पनि चुनावी सरगर्मी बढेको छ । ललितपुर महानगरमा कांग्रेसबाट मेयरको टिकट कसले पाउलान् भन्ने चासोसमेत बढेको छ ।

ललितपुर महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट चार जनाले आकांक्षा देखाएका छन् । मेयर चिरिबाबु महर्जन, निवर्तमान नगर सभापति राजेश महर्जन, महाधिवेशन प्रतिनिधि प्रेमकृष्ण महर्जन र महासमिति सदस्य भरतलाल न्याछ्औँले यो पटक मेयरमा उठ्ने तयारी गरेका छन् ।

निवर्तमान सभापति राजेश महर्जनलाई महानगरपालिकाको मेयरमा दाबेदार नगरुन् भनी बागमती प्रदेशको सदस्यमा मनोनीत गरिसकिएको स्रोतले बताएको छ । तर, पनि पछिल्लो समय उनी मेयरको दाबी प्रस्तुत गरिरहेका छन् ।

सबै पार्टीले उत्तिकै महत्व दिएको ललितपुरमा २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका चिरिबाबु महर्जनले जितेका थिए । अबको निर्वाचनमा पनि कांग्रेस ललितपुर महानगर गुमाउन चाहँदैन । जनतासँग नजिक रहेका र लोकप्रिय व्यक्ति छनौट गरी टिकट दिइनुपर्ने दबाबमा कांग्रेस देखिन्छ ।

प्रेमकृष्ण महर्जन २०७४ मा प्रतिनिधिसभा–२ को प्रदेश सभामा पराजित भएका हुन् । २०५४ मा प्रेमकृष्ण ललितपुर उपमहानगरको उपमेयरमा पराजित भए । २०५४ सालको चुनावमा ७ हजार मतले हारेका उनी २०७४ को प्रदेससभा चुनावमा पनि २६ सय मत नपुग्दा पराजित भएका थिए ।

आठौँ महाधिवेशन देखि १४औँ महाधिवेशनसम्म महाधिवेशन प्रतिनिधिमा उनी निरन्तर विजयी हुँदै आएका छन् । उनी २०३८ देखि नै राजनितिमा सक्रिय छन् ।

भरतलाल न्याछ्औँ ४२ वर्षदेखि कांग्रेसको राजनितिमा सक्रिय छन् । उनी दुइ पटक नगरको सभापति भएका छन् । एक पटक जिल्लाको सहसचिव भएका छन् । दुइ पटक महाधिवेशन प्रतिनिधि भएका छन् ।

उनी हाल महासमिति सदस्य छन् । पार्टी एकताका लागि सधैँ आफ्नो योगदान रहेको उनी बताउँछन् । ‘पार्टी विभाजनको अवस्थामा पनि पार्टी एकता हुनुपर्छ भनेर कुनै गुटमा नलागी हिडेँ’ उनले भने ।

ललितपुर २५ सयदेखि ३ हजार वर्ष पुरानो नगर रहेको भरतको दाबी छ । ललितपुर आफ्नै संस्कृति र सम्पदाको धनी पनि छ । लिच्छविकालीन किँरातकालीन संस्कृति र सभ्यता भएको नगर भएकाले सबैलाई संरक्षण सम्बर्धन गरेर विश्वव्यापी पहिचान बनाउने भरतको योजना छ । जस्तो जेरुसेलम, बनारस, रोम, ग्रीस भन्ने बित्तिकै मानिसले चिन्छ, त्यस्तै ललितपुरको पहिचान बनाउने योजना न्याछ्औँको छ ।

मेयरका अर्का दाबेदार हुन् हालका मेयर चिरिबाबु महर्जन । उनी आफ्नो कार्यकाल एकदमै राम्रो काम भएको दाबी गर्छन् । उनले ५ वर्षको कामको पत्रकार सम्मेलन गरी ९० प्रतिशत काम पुरा गरेको जानकारी दिए । योजनामा राखिएका र घोषणा गरिएका महत्वाकांक्षी योजनाहरु पूरा गर्न बाँकी रहेकाले यसपटक मेयरमा दोहोर्‍याउने मनस्थितिमा उनी छन् ।

ललितपुरका निवर्तमान सभापति तथा केन्दीय सदस्य मदन अमात्यले चिरिबाबुलाई मेयरमा पुनः दोहोर्‍याउन जोड दिएका छन् । चिरिबाबुले पाँच वर्षको कार्यकालमा धेरै राम्रा काम गरे । उनले ललितपुरलाई हरियाली बनाए । कुपण्डोलदेखि जावलाखेलसम्मका सडक हरियाली बनाए ।

बल्खुदेखि बालकुमारीसम्मका सडकका दायाँबायाँ वृक्षरोपण र हरियाली पार्क बनाए । यस्तै, सडक व्यवस्थित गरे । जाउलाखेल, मंगलबजार र लगनखेलका अव्यवस्थित बजार हटाए ।

प्रतिक्रिया दिनुहोस