Latest News

कमल थापाले एमालेको सूर्य चिन्हबाट चुनाव लड्ने, गरे यस्तो घोषणा

Nepalese Times April 8, 2022 (2 Year ago)    1296 Views

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सूर्य चिन्हबाट चुनाव लड्ने चाहना व्यक्त गरेका छन् । आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकै चुनाव चिन्ह लिएर पार्टी निर्वाचनमा सहभागी हुन आफू इच्छुक रहेको उनले बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित स्थानीय तह निर्वाचन घोषणापत्र तथा चुनाव चिन्ह सार्वजनिकीकरण समारोहमा बोल्दै अध्यक्ष थापाले यस्तो घोषणा गरेका हुन् ।

स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेसँग सहकार्य गर्ने कुरा प्रारम्भिक चरणमा सम्पन्न भएको भन्दै अध्यक्ष थापाले आफ्नो पार्टीका स्थानीय तहमा उठ्ने नेता तथा कार्यकर्ताहरूले नेकपा एमलेसँग मिलेर सहकार्य र तालमेल गरेर अघि बढ्न आग्रह गरे ।

उनले नेकपा एमालेसँग स्थानीय तहको निर्वाचनमा तालमेल हुँदा एमालेकै चुनाव चिन्ह लिएर उठ्ने धारणा पार्टीको भएकोसमेत बताए । नेपाललाई हिन्दुराष्ट्र कायम गर्ने बारेमा राष्ट्रिय सहमति हुनुपर्ने भन्दै उनले हिन्दुराष्ट्र कायम गर्ने बारेमा राष्ट्रिय सहमति नभएमा धर्म निरपेक्षता राख्ने वा हिन्दुराष्ट्र कायम गर्ने भन्ने बारेमा जनताको प्रत्यक्ष अभिमत बुझ्न आगामी संसदीय चुनाव सँगसँगै राष्ट्रिय जनमत संग्रह गर्न पनि माग गरे ।

यस्तै चुनावमा कसैसँग पनि तालमेल नगर्ने र एक्लै चुनावमा लड्ने नेपाली कांग्रेसका मोरङस्थित विभिन्न स्थानीय संयन्त्रले निर्णय गरेसँगै अरु सत्तारुढ दलहरु पनि आवश्यक छलफलमा जुटेका छन् ।

जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलहरुले कांग्रेसबाहेकको गठबन्धन बनाएरअघि बढ्ने तयारी गरेको जनाएका छन्।

कांग्रेसले स्थानीय चुनावमा कसैसँग पनि तालमेल नगर्ने निर्णय गर्न थालेपछि सत्ता गठबन्धनका अन्य दलहरू जिल्लामा दोस्रो गठबन्धन बनाउने तयारीमा जुटेका छन्। कांग्रेस नेता डा. शेखर कोइरालाको बलियो पकड रहेको मोरङमा गठबन्धनका अन्य दल ‘कांग्रेसले हेपेको’ भन्ने निष्कर्षमा पुगेका छन्।

कांग्रेसले दम्भ प्रदर्शन थालेका कारण माओवादी, जसपा र एकीकृत समाजवादीसहितको तीन दलीय गठबन्धनको तयारी भएको नेकपा माओवादी केन्द्रका नेता गणेश उप्रेतीले बताए ।

कांग्रेसले गठबन्धनको नीति नमान्दा अर्को गठबन्धन स्वाभाविक हुने नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मीले बताए । केन्द्रीय नीति अनुसार कांग्रेस र अरू दल अघि बढनुपर्ने भन्दै उनले भने, ‘होइन, केन्द्रकै निर्णयलाई चुनौती दिने हो भने हामीले कांग्रेस पर्खिरहनुपर्ने आवश्यकता छैन। हामी तीन दलीय गठबन्धन बनाउन तयार छौं।’

जनता समाजवादीका नेता एवम् अघिल्लो पटक मेयरका उम्मेद्वार उमेश यादव त कांग्रेससँग विराटनगरमा गठबन्धन गर्नै नहुने बताउँछन्। अघिल्लोपटक १० हजारभन्दा बढी मत आफूहरुको मत बदर भएर आफूहरु पराजित भएको भन्दै उनले त्यसबेला छोटो समय भएका कारण जनतालाई बुझाउन नसकिएको बताए ।

केही दिनयता मोरङमा आफ्नो शक्ति बलियो रहेको आँकलनसहित कांग्रेसले धमाधम एकल चुनाव लड्ने घोषणा गरिरहेको छ। यही क्रममा विराटनगर महानगर समिति र सुनवर्षी नगर समितिले स्थानीय चुनावमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेका छन्।

प्रतिक्रिया दिनुहोस