Latest News

स्थानीय निर्वाचनः कांग्रेस एक्लै अघि बढ्ने भएपछि बन्ने भयो अर्को गठबन्धन

Nepalese Times April 8, 2022 (2 Year ago)    1128 Views

काठमाडौं । चुनावमा कसैसँग पनि तालमेल नगर्ने र एक्लै चुनावमा लड्ने नेपाली कांग्रेसका मोरङस्थित विभिन्न स्थानीय संयन्त्रले निर्णय गरेसँगै अरु सत्तारुढ दलहरु पनि आवश्यक छलफलमा जुटेका छन् ।

जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलहरुले कांग्रेसबाहेकको गठबन्धन बनाएरअघि बढ्ने तयारी गरेको जनाएका छन्।

कांग्रेसले स्थानीय चुनावमा कसैसँग पनि तालमेल नगर्ने निर्णय गर्न थालेपछि सत्ता गठबन्धनका अन्य दलहरू जिल्लामा दोस्रो गठबन्धन बनाउने तयारीमा जुटेका छन्। कांग्रेस नेता डा. शेखर कोइरालाको बलियो पकड रहेको मोरङमा गठबन्धनका अन्य दल ‘कांग्रेसले हेपेको’ भन्ने निष्कर्षमा पुगेका छन्।

कांग्रेसले दम्भ प्रदर्शन थालेका कारण माओवादी, जसपा र एकीकृत समाजवादीसहितको तीन दलीय गठबन्धनको तयारी भएको नेकपा माओवादी केन्द्रका नेता गणेश उप्रेतीले बताए ।

कांग्रेसले गठबन्धनको नीति नमान्दा अर्को गठबन्धन स्वाभाविक हुने नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मीले बताए । केन्द्रीय नीति अनुसार कांग्रेस र अरू दल अघि बढनुपर्ने भन्दै उनले भने, ‘होइन, केन्द्रकै निर्णयलाई चुनौती दिने हो भने हामीले कांग्रेस पर्खिरहनुपर्ने आवश्यकता छैन। हामी तीन दलीय गठबन्धन बनाउन तयार छौं।’

जनता समाजवादीका नेता एवम् अघिल्लो पटक मेयरका उम्मेद्वार उमेश यादव त कांग्रेससँग विराटनगरमा गठबन्धन गर्नै नहुने बताउँछन्। अघिल्लोपटक १० हजारभन्दा बढी मत आफूहरुको मत बदर भएर आफूहरु पराजित भएको भन्दै उनले त्यसबेला छोटो समय भएका कारण जनतालाई बुझाउन नसकिएको बताए ।

केही दिनयता मोरङमा आफ्नो शक्ति बलियो रहेको आँकलनसहित कांग्रेसले धमाधम एकल चुनाव लड्ने घोषणा गरिरहेको छ। यही क्रममा विराटनगर महानगर समिति र सुनवर्षी नगर समितिले स्थानीय चुनावमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेका छन्।

यसअघि मोरङकै सुनवर्षी नगर समितिले पनि यस्तै निर्णय गरिसकेको छ। कांग्रेसका जिल्ला नेताहरुका अनुसार स्थानीय संयन्त्रले गरेको निर्णयमा पार्टीको माथिल्लो समितिले हस्तक्षेप गर्ने छैन।

मोरङ कांग्रेसले जिल्लाभरी गठबन्धन के गर्ने भन्ने विषयमा आज निर्णय लिने जनाएको छ । मोरङमा ८ नगरपालिका, ८ गाउँपालिका र एउटा महानगरसहित जम्मा १७ स्थानीय तह छन्। विराटनगर महानगरपालिकासहित कांग्रेसले २०७४ को निर्वाचनमा एक्लै मोरङका नौ वटा स्थानीय तह जितेको थियो।

जसमध्ये उर्लाबारी, रतुवामाई, लेटाङ, सुनवर्षी, सुन्दरहरैंचा नगरमा जितेको कांग्रेसले कटहरी, केराबारी, धनपालथान गाउँपालिका जितेको थियो। बुढीगंगा गाउँपालिकामा विजय गच्छदार नेतृत्वमा रहेको तत्कालीन फोरम लोकतान्त्रिकले जितेको थियो। गच्छदारको दल कांग्रेसमा समाहित भएपछि अहिले मोरङमा १० स्थानीय तह कांग्रेसको नेतृत्वमा छन्।

कांग्रेसले आफूले जितेका कुनै पनि स्थानीय तहमा तालमेल गर्न नहुने बताइरहेको छ । २०७४ मा एमालेले जितेका ठाउँमा मात्रै भागवण्डा गर्न सकिने कांग्रेस नेताहरुको भनाइ छ। तर, गठबन्धनका अन्य दल त्यस्तो प्रस्ताव स्वीकार्य नहुने बताइरहेका छन्।

प्रतिक्रिया दिनुहोस