Latest News

स्थानीय चुनावको मिति सार्ने तयारी भएको हो ? प्रचण्डले गरे नयाँ खुलासा

Nepalese Times April 8, 2022 (1 Year ago)    1563 Views

काठमाडौं । स्थानीय तहको चुनाव आउन अब मात्रै एक महिना बाँकी छ । चुनावका लागि देशभरका पालिकाहरुमा राजनीतिक दलहरुले उम्मेदवार छान्ने कामसमेत गरिरहेका छन् ।

देशभर चुनावी सरगर्मी बढिरहेको बेला बिहीवार एकाएक चुनावको मितिी सार्ने तयारी भएको खबर प्रकाशित भयो । त्यसै दिन नेकपा एमालेका महासचिव शंकर पोखरेलको समूह र विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) पनि निर्वाचन पुगे ।

तर, स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा पछि नसर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलासा गरेका छन् । उनले भने, ‘सरकार वा गठबन्धन दलहरु कुनै पनि हालतमा बैशाख ३० को चुनाव सार्ने वा यताउता गर्ने पक्षमा छैनन् । चुनाव सर्छ कि भन्ने हल्ला विल्कुल गलत हो ।’

कतिपयले विप्लव माओवादीलाई समेत चुनावमा ल्याउनका लागि निर्वाचन कार्यक्रम पछि सार्ने सत्तापक्षबाट तयारी भइरहेको चर्चा गरेका छन् । तर यसबारे चासो राख्दा त्यो सही नभएको माओवादी अध्यक्ष प्रचण्डले बताए । उनले कुनै पनि हालतमा बैशाख ३० को चुनाव यताउता नहुने स्पष्ट पारे ।

सरकारले बैशाख ३० गते स्थानीय तहको चुनावको मिति तय गरिसकेको छ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम घोषणा गरेर तयारी तीव्र बनाइसकेको छ । मतपत्र पनि छापिइसकेको छ ।

आयोगले शुक्रबार ९आज० अपरान्ह पाँच बजे औपचारिक कार्यक्रम नै गरेर आचार संहिता लागू गर्दैछ । तथापि, स्थानीय तहको चुनाव सर्ने हो कि भन्ने हल्ला एकाएक सलह जसरी फैलिइरहेको छ ।

त्यस्तै, सत्तारुढ नेपाली काँग्रेसका एक नेताले निर्वाचनबाट प्रमुख प्रतिपक्षी नेकपा एमाले आत्तिएको र उसले चुनाव सार्न चाहेको आरोप लगाए । विपक्षीबाटै चुनाव सर्ने हल्ला फैलिएको उनले आरोप लगाए । सत्तापक्ष चुनाव सार्ने पक्षमा नरहेको ती काँग्रेस नेताले बताए ।

यसैबीच, गठबन्धन दलहरुले स्थानीय चुनावमा देशव्यापी गठबन्धनको आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्न लागेको नेपाली काँग्रेसका एक नेताले बताए ।गठबन्धनका तर्फबाट देशभरिका ६ वटा महानगरपालिका र उपमहानगरपालिकामा मेयर र उपमेयरहरुको उम्मेदवारी टुंगो लगाउनेबारे सामान्य कुराकानी भए पनि अन्तिम टुंगो लाग्न बाँकी रहेको गठबन्धनका नेताहरुले बताएका छन् ।

यस्तै सत्ता गठबन्धनको बैठक सकिएको छ । सत्तारुढ ५ दलीय गठबन्धनले चुनावी तालमेलका पक्षमा संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको छ । गठबन्धनको आज बसेको बैठकले तालमेलका पक्षमा देशव्यापी माहोल सिर्जना गर्न संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको हो । बैठकपछि गठबन्धनमा रहेका दलका नेताहरुले तालमेलको पक्षमा देशव्यापी माहोल सिर्जना गर्न संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको बताएका छन् ।

गठबन्धनले चुनावी तालमेलको सैद्धान्तिक निर्णय गरेपछि पनि कतिपय जिल्लाहरूमा गठबन्धनमा रहेका दलहरुबीच सहमति नजुटेपछि केन्द्रीय शीर्ष नेताहरूले संयुक्त वक्तव्य जारी गर्न लागेको हुन् ।

प्रतिक्रिया दिनुहोस