Latest News

महानगरपालिकामा एक्लै लड्ने कांग्रेसको निर्णय, माओवादी र समाजवादी हेरेको हेर्यै

Nepalese Times April 8, 2022 (2 Year ago)    990 Views

काठमाडौं । आएादो स्थानीय तहको चुनावमा एक्लै लड्ने नेपाली काँग्रेस विराटनगर महानगर समितिले निर्णय गरेको छ । आगामी स्थानीय चुनावमा विराटनगरमा कुनै पनि गठबन्धन आवश्यक नरहेको निष्कर्षसहित महानगर समितिले यस्तो निर्णय गरेको हो ।

दुई दिन अगाडि बसेको नगर समितिको बैठकले यस्तो निर्णय गरेको र विराटनगरमा कुनै पनि किसिमको गठबन्धनको आवश्यकता नरहेको एक नेताले बताए ।

केन्द्रले स्थानीय अवस्था हेरेर तालमेल गर्ने निर्णय गरिसकेको र केन्द्रले विराटनगरको विषयमा निर्णय गर्ने कुरा नरहेको नगर सभापति दीपक चापागाईँले बताए ।

विराटनगरमा वडातहसम्मकै उम्मेदवारको नामावली संकलन र सिफारिसको काम भइरहेको र हालसम्म १९ वटा वडामध्ये एउटा वडा १८ नम्बरबाहेक सबैको नामावली सिफारिस भएको उनले बताए ।

०७४ सालको निर्वाचनमा विराटनगरमा काँग्रेसले १९ नम्बर वडासहित ८ वटा वडा जितेको थियो । यस्तै संघीय समाजवादी फोरमले ६, एमालेले ३, माओवादीले १ र स्वतन्त्र उम्मेदवार १ जनाले निर्वाचन जितेका थिए ।

अघिल्लो पटक काँग्रेस र राप्रपा एक्लै चुनावमा होमिएका थिए भने एमाले र फोरम लोकतान्त्रिक तथा माओवादी र संघीय समाजवादीबीच गठबन्धन बनेको थियो ।

त्यसबेला काँग्रेसबाट प्रमुख पदका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी बने । एमाले र फोरम लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनावमा होमिएका एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत प्राप्त गरेका थिए ।

यस्तै माओवादी र संघीय समाजवादीको तर्फबाट संयुक्त उम्मेदवार बनेका उमेशकुमार यादवले १४ हजार ९ सय ५८, राप्रपाका प्रहलादप्रसाद साहले ५ हजार ५ सय २४ मत पाएका थिए । अन्य उम्मेदवारको जम्मा मत ३ सय ६४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस