Latest News

दुर्गा प्रसाईंले उम्मेदवारी दिने, गरे यस्तो तयारी

Nepalese Times April 8, 2022 (2 Year ago)    710 Views

काठमाडौं । स्थानीय तहको चुनावको सरगर्मी देशभर बढेको छ । स्थानीय तहको चुनावको चहलपहल केन्द्रदेखि गाउँघरसम्म बाक्लिएको छ ।

झापा क्षेत्र नम्बर ३ मा भने संसदीय चुनावको चहलपहलसमेत अघि बढेको छ । एक वर्षपछि हुने संसदीय चुनावको चर्चासमेत सुरु भएको छ । एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूले उम्मेदवारी दिने भज्दै अभियान सुरु गरिसकेका छन् ।

केपी ओलीबाट आफूले टिकट पाइसकेको भन्दै उनले झापा क्षेत्र नम्बर ३ मा चुनावी अभियान थालेका छन् । प्रसाईंले काँग्रेस नेता कृष्ण प्रसाद सिटौलालाई टेलिफोन गरेर क्षेत्र नम्बर ३ मा एमालेले आफूलाई खटाएको हुनाले उक्त क्षेत्रमा उम्मेदवार नबन्न आग्रहसमेत गरेका छन् ।

प्रसाईंले सिटौलालाई नाताले मामा भन्छन् । एमाले नेता प्रसाईंले सिटौलालाई फोनमा भने, ‘मामा म क्षेत्र नम्बर ३ मा एमालेबाट उठ्ने भएँ, तपाईँ अर्कै क्षेत्रमा गइदिनपर्‍यो ।’

झापा क्षेत्र नम्बर ३ यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जितेको क्षेत्र हो । ०७४ सालमा लिङ्देनले एमाले अध्यक्ष केपी ओलीको साथ पाएर जितेका थिए । सो निर्वाचनमा एमालेले ‘म्याच फिक्सिङ’ गर्दा सिटौला पराजित भएका थिए ।

यस पटक ओलीले मेडिकल व्यवसायी प्रसाईंलाई सो क्षेत्रमा तयारी गर्न भनेपछि लिङ्देन र काँग्रेस नेता सिटौलामाथि थप दवाव पर्न थालेको छ । आगामी चुनावमा सो क्षेत्रमा एमालेका दुर्गा प्रसाईं, राप्रपाका लिङ्देन र काँग्रेसका सिटौलाबीच भिडन्त भएमा त्यो रोचक प्रतिस्पर्धा हुनेछ ।

यस्तै, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आगामी संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ आफू उम्मेदवार हुने घोषणासमेत गरेकी छिन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी नेत्री कोइरालाले मोरङ क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ आफू उम्मेदवार हुने घोषणा गरेकी हुन् ।

यतै उनले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताएकी छिन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशन मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यक्ता रहेको बताइन् ।

कारण दुई पटक विघटन गरिएको संसद् गठबन्धनका पुनःस्थापना र नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएकाले स्वार्थी बन्न नहुँने भन्दै उनले पार्टीको केन्द्रीय कार्य समितिको निर्णय सबै नेता तथा कार्यकर्ताले अनुशरण गरी अघि बढ्नुपर्नेमा जोड दिइन् ।

नेत्री कोइरालाले पार्टीलाई पुनः सत्तामा जानका लागि गठबन्धन आवश्यक भएको चर्चा गर्दै गठबन्धन सरकारबाट नै लोकतन्त्रको संस्थागत विकास, रोजगारी अभिवृद्धि र सामाजिक रुपान्तरण हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस