Latest News

चुनावको मिति पछि सार्न भन्दै प्रधानमन्त्री देउवालाई माधव नेपालको फोन, के–के भयो कुराकानी ?

Nepalese Times April 8, 2022 (2 Year ago)    1219 Views

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सत्तारुढ गठबन्धनभित्र चुनावको मिति सार्नेबारे बहस सुरु भएको छ । आवश्यक तयारी नपुगेको भन्दै सत्ता गठबन्धनमा रहका दलहरुले चुनावको मिति पछि सार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिईरहेको खुलेको छ ।

चुनावी तालमेल गर्ने निर्णय गरेको सत्ता गठबन्धनले उम्मेदवार चयनका क्रममा समस्या आउने र धेरै ठाउँमा विवाद निस्कने देखिएपछि चुनावको मिति नै सार्ने तयारी भएको गठबन्धनका एक नेताले बताए ।

नेकपा एमालेले पनि चुनावी आचारसंहितालाई लिएर असन्तुष्ट जनाइरहेको अवस्थामा चुनावको मिति पर धकेलेर आवश्यक तयारी सुरु गर्न लागिएको उनले बताए ।

यसबारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफलसमेत भइरहेको छ । यस्तै नेकपा एकीकृत समाजवादीले पनि चुनावको मिति पर सार्न दबाब दिँदै आएको खुलेको छ ।

चुनावको मिति पर सार्नका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेकोसमेत खुलेको छ । जवाफमा प्रधानमन्त्री देउवाले चुनावी प्रक्रिया धेरै अघि बढिसकेको र निर्वाचन आयोगले समेत आवश्यक तयारी गरिसकेकोले यसबारे अहिले नै यसै भन्न नसकिने जवाफ दिएका थिए ।

उनले यो अवस्थामा आएर चुनावको मिति पर धकेल्दा नेकपा एमालेले विरोध जनाउने र चुनावका लागि खर्च पनि धेरै भइसकेकोले विशेष परिस्थितिबाहेक चुनावको मिति सार्न सकिने अवस्था नरहेको बताए ।

प्रचण्ड र माधव नेपालले विगतमा पनि स्थानीय, प्रदेश र संघीय संसदको चुनाव एकैपटक गर्नेबारे छलफल गरेका थिए । देउवा पनि यस मामलामा सकारात्मक भएको तर धेरै अघि पुगिसकेकोले यसै भन्न नसकिने अवस्थामा छन् ।

विश्वस्त स्रोतका अनुसार तीनै तहको चुनाव एकैपटक कात्तिक या मंसिरमा गर्नेबारे बालुवाटारले छलफल थालेको छ । चुनाव सार्ने पक्षमा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि देखिएका छन् ।

गठबन्धन गरेर चुनावमा जाँदा काँग्रेसभित्र टिकट नपाउनेहरुले विद्रोह गर्ने घटना विकास हुँदै गएपछि देउवा सतर्क भएका हुन् । स्वतन्त्र या अन्य दलबाट उम्मेदवार बन्ने तयारीमा काँग्रेसका कतिपय नेता कार्यकर्ताले तयारी थालेका छन् ।

काँग्रेसभित्र उम्मेदवार बन्न नपाउनेहरुले गर्ने विद्रोहलाई सबैभन्दा बढी एमाले, राप्रपा र लोसपाले अवसरका रुपमा हेरेर बसेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली स्थानीय तहमा बलियो पकड भएका तर टिकट नपाउनेहरुलाई पार्टीमा ल्याएर टिकट दिने रणनीतिमा छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि काँग्रेसमा रहेर टिकट नपाउनेहरुलाई पार्टीमा भित्राएर टिकट दिने गरी पूर्व तयारीमा छन् । यसले काँग्रेसमा ठूलै पहिरो जाने रिपोर्टहरु बालुवाटार र सानेपामा पुग्न थालेको छ । यसकारण पनि स्थानीय चुनाव पछि धकेल्ने तयारीहरु भइरहेका छन् ।

यस्तै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तह निर्वाचनमा भाग लिन पाउने वातावरण बनाउन निर्वाचन आयोगसमक्ष आग्रह गरेको छ ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सहितको टोलीले विहीबार आयोगका पदाधिकारीलाई भेटेर निर्वाचनमा भाग लिने वातावरण बनाइदिन आग्रह गरेको हो ।

प्रकाण्डले आफ्नो पार्टीलाई निर्वाचनमा भाग लिनका लागि मतदाता नामावलीमा नेता कार्यकर्ता नै नरहेकाले नामावलीमा समावेश हुने अवसर मागेको छ । त्यस्तै दल दर्ताका लागि पनि प्रकाण्डले समय मागेका छन् ।

आफ्नो पार्टीका नेता कार्यकर्ता जेलमा रहेकाले उनीहरू पनि रिहा भएर निर्वाचन प्रक्रियामा भाग लिन पाउनुपर्ने विप्लव नेतृत्वको नेकपाको माग रहेको छ ।

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले भने स्थानीय तह निर्वाचनको कार्यतालिका अघि बढिसकेको अवस्थामा दल दर्ता, मतदाता नामावलीजस्ता विषय कानूनी र व्यवहारिक रूपमै टुंगिसकेको बताए ।

बन्दी रिहाइको विषय भने आयोगको नभइ सरकारको कुरा भएको उनको भनाइ छ । प्रमुख आयुक्त दिनेश थपलियासँग प्रकाण्डले अलग्गै छलफलसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस