Latest News

आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

Nepalese Times April 8, 2022 (2 Year ago)    802 Views

काठमाडौं – निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आज (शुक्रबार)देखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। निर्वाचन आयोगका एक आयुक्तका अनुसार बिहीबारदेखि लागू गर्ने तयारी गरे पनि सम्भव नदेखिएकाले शुक्रबारबाट लागू गर्न लागिएको हो।

 निर्वाचन आयोगले चैत ३ गते निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको थियो। उक्त आचारसंहिताको एक बुदाँमा भने सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

वहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो। आयोगले सामाजिक सञ्जालदेखि उम्मेद्वार र अन्यलाई निर्वाचनमा गर्न नपाउने व्यवस्था समावेश गरेर आचारसंहिता जारी गरेको छ।

केही दिनअघि आयोगले निर्वाचनमा भाग लिने दलहरुसँग प्रतिबद्धता जनाउन छलफल पनि गरेको थियो। आचारसंहिता लागेपछि सरकारले सरुवाबढुवालगायत निर्णय गर्न पाउने छैन।

आयोगले जारी गरेको ६० बुँदे निर्देशनमा चुनाव प्रचारप्रसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न पाइने उल्लेख गरिएको छ ।

‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारको कार्यक्रम गर्दा विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने’, आयोगको निर्देशनमा भनिएको छ ।

यस्तै आयोगले अनुमति बिना चुनावी कार्यक्रम गर्न रोक लगाएको छ। आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो।

आयोगले जुलुस, आमसभा वा प्रचार प्रसार गर्दा दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा बोक्न नपाइने उल्लेख गरेको छ ।

यस्तै दलको झण्डा वा चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न पनि रोक लगाएको छ । यस्तै कुनै राजनीतिक दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाताहरू ओसारपसार गर्न वा सम्बन्धित स्थान तोकी प्रयोग गर्ने गरी अनुमति लिएको सवारी साधन अन्य स्थानमा प्रयोग गर्न नपाइने पनि आयोगले भनेको छ।

प्रतिक्रिया दिनुहोस