Latest News

मन्त्रिपरिषद् बैठक सकियो, यस्ता छन् महत्वपूर्ण निर्णयहरु

Nepalese Times April 7, 2022 (2 Year ago)    1062 Views

काठमाडौं । विभिन्न देशमा रिक्त रहेका २० राजदूत नियुक्ति गर्ने सरकारले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १२ जना राजनीतिक दलको कोटाबाट र ८ जना परराष्ट्र सेवाबाट राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

जसपा नेता नवराज सुवेदीसहित राजदूत नियुक्तिको लागि सिफारिस भए पनि कतिपयको बायोडाटा लिनुपर्ने र केही नामको योग्यताको बुझ्नुपर्ने भएकाले सबैको नाम आधिकारिक रुपमा बाहिर ल्याउनेगरि मुख्यसचिव र परराष्ट्र मन्त्रीलाई जिम्मा दिइएको छ ।

यस्तै आजको बैठकले सैद्धान्तिक सहमति दिएको र परिपक्व भएपछि बाहिर आउने एक मन्त्रीले बताए । चीनका लागि नेपाली राजदूतमा नेकपा माओवादी केन्द्रका नेता विष्णुपुकार श्रेष्ठ सिफारिसमा परेका छन् ।

यस्तै त्यस्तै नेकपा एकीकृत समाजवादीको कोटामा रसियाका लागि मिलन तुलाधर, अष्ट्रेलियाका लागि केशवराज पोखरेल, मलेसियाका लागि डिल्ली पौडेल सिफारिस भएका ती मन्त्रीले जानकारी दिए ।

दक्षिण अफ्रिकाका लागि रामबहादुर बम्जन तामाङ, ओमानका लागि शर्मिला पराजुली, दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, जापानका लागि दुर्गाबहादुर सुवेदी राजदूत सिफारिस भएका छन् ।

राजदूतमा सिफारिस भएकाहरुको अब संसदीय सुनुवाइ हुनेछ र त्यहाँबाट नाम अनुमोदन भएमा सम्बन्धित देशको सहमति आएपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।

यस्तै नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । सन्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले सिफारिस गरेका तीनजनामध्येबाट सरकारले पौडेललाई नियुक्त गरेको हो । पौडेल नेपाल टेलिकमबाहिरका हुन् ।

प्रतिक्रिया दिनुहोस