Latest News

निर्वाचन आयोग पुगेर प्रकाण्डले राखे यस्तो माग, होला त सम्बोधन ?

Nepalese Times April 7, 2022 (2 Year ago)    633 Views

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निर्वाचन आयोग पुगेका छन् । प्रकाण्ड केहीबेरअघि आयोगको कार्यालयमा देखिएका हुन् । विप्लव नेतृत्वको नेकपा आयोगमा दर्ता छैन ।

केही दिनअघि बसेको केन्द्रीय कमिटी बैठकमा स्थानीय चुनावको उपयोग गर्ने वा नगर्ने विषयमा दुईधार देखिएको थियो । चुनावलाई उपयोग गरेर जाने महासचिव विप्लवको प्रस्ताव अल्पमतमा परेको थियो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तह निर्वाचनमा भाग लिन पाउने वातावरण बनाउन निर्वाचन आयोगसमक्ष आग्रह गरेको छ । प्रवक्ता प्रकाण्डले विहीबार आयोगका पदाधिकारीलाई भेटेर निर्वाचनमा भाग लिने वातावरण बनाइदिन आग्रह गरेको हो ।

प्रकाण्डले आफ्नो पार्टीलाई निर्वाचनमा भाग लिनका लागि मतदाता नामावलीमा नेता कार्यकर्ता नै नरहेकाले नामावलीमा समावेश हुने अवसर मागेको छ । त्यस्तै दल दर्ताका लागि पनि प्रकाण्डले समय मागेका छन् ।

आफ्नो पार्टीका नेता कार्यकर्ता जेलमा रहेकाले उनीहरू पनि रिहा भएर निर्वाचन प्रक्रियामा भाग लिन पाउनुपर्ने विप्लव नेतृत्वको नेकपाको माग रहेको छ ।

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले भने स्थानीय तह निर्वाचनको कार्यतालिका अघि बढिसकेको अवस्थामा दल दर्ता, मतदाता नामावलीजस्ता विषय कानूनी र व्यवहारिक रूपमै टुंगिसकेको बताए । बन्दी रिहाइको विषय भने आयोगको नभइ सरकारको कुरा भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस