Latest News

यस्तो छ निर्वाचन आयोगको आचार संहिताप्रति एमालेको ६ बुँदे असहमति (पूर्णपाठ)

Nepalese Times April 7, 2022 (2 Year ago)    598 Views

नेकपा एमालेले स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले बनाएको आचारसंहितामा पार्टीका तर्फबाट ६ बुँदे धारणा राखेको छ। आज महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहित नेताहरूले आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई पार्टीका तर्फबाट धारणा समेटिएको ज्ञापत्र पत्र बुझाएका हुन्।

आयोगले बनाएको आचारसंहिता पालना गर्न सके राम्रो हुने महासचिव पोखरेल बताउँछन्। तर प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीहरू नै चुनाव प्रचारमा जान नपाइने गरी आयोगले बनाएको आचारसंहिताको कार्यान्वयन पक्ष भने जटिल रहेको उनले बताए।

उनले एमालेले आचारसंहिता पालना गर्ने पनि बताए। आचारसंहिताका केही प्रावधानलाई भने आयोगले संशोधन गर्नुपर्ने एमालेको भनाइ छ। उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने प्रावधान पनि संशोधन गर्नुपर्ने एमालेको माग छ।

‘निर्वाचन आयोगसँग हाम्रो टसल होइन,’ पोखरेलले भने, ‘प्रधानमन्त्रीले नै चुनाव प्रचार गर्न नपाउने कुरा लोकतन्त्रमा अलि मिल्ने खालको भएन। त्यो संशोधन गर्नुपर्छ भन्ने हो। हामी प्रतिपक्षमा भए पनि सरकार पक्षलाई नै फाइदा हुने कुरा उठाएका छौं।’

एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले आयोगमै पुगेर ६ बुँदे ध्यानाकर्षणसहितको प्रतिबद्धतापत्र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई बुझाएको छ ।

सो पत्रमा आयोगले चैत ३ गते राजपत्र जारी गरेर सार्वजनिक गरेको ‘निर्वाचन आचारसंहिता २०७८’ मा रहेका विभिन्न त्रुटिहरू ६ बुँदामा उल्लेख गरिएको छ । जसमा पहिलो बुँदामा आचारसंहिताको दफा ४ मा भएको त्रुटिका सन्दर्भमा उल्लेख गरिएको छ । राजनीतिक दल, दलका उम्मेदवार र भ्रातृसंस्थाले प्रचारप्रसार गर्न नपाउने भन्ने आशयको व्यवस्था छ ।

जसबारे पत्रमा ‘निर्वाचन भनेको मत माग्ने मात्र नभई दलहरूले आफ्ना विचारद्वारा जनतालाई प्रशिक्षित गर्ने माध्यम पनि हो । संविधानको धारा २६९ को उपधारा (१) ले यसको प्रत्याभूत गरेको छ ।,’ भनेर उल्लेख गरिएको छ । सोही अनुसार आचारसंहितामा भएको प्रावधानले दलहरूको विचार, नीति, कार्यक्रमको तुलना गरी श्रेष्ठतम् दललाई रोज्ने जनताको अधिकार कुण्ठित भएको एमालेको ठहर छ ।

यस्तै दोस्रो बुँदामा दफा ५ मा भएको व्यवस्थाबारे ध्यानाकर्षण गरिएको छ । जसमा प्रधानमन्त्री, मन्त्री र स्थानीय कार्यपालिकाका पदाधिकारीले आफ्नो पार्टीको प्रचार गर्न नपाउने भन्ने विषयलाई वैचारिक र दलीय आवद्धतालाई अंकुश लाउन नहुने एमालेको धारणा छ । ‘यो निर्वाचनको सिद्धान्त र संविधानमा भएको राजनीतिक दलबीचको प्रतिस्पर्धाको सिद्धान्तविपरीत समेत छ,’ सो बुँदामा उल्लेख छ ।

यस्तै बुँदा नम्बर ३ मा आचार संहिताको दफा २ (न) र दफा (११) मा भएको त्रुटिबारे ध्यानाकर्षण गराइएको छ भने, बुँदा नम्बर ४ मा दफा १२ (ढ) मा भएको व्यवस्थाको त्रुटि केलाएर धारणा राखिएको छ ।

यो सँगै एमालेले चैत २२ गतेको राजनीतिक दलहरूको प्रतिवद्धता लिने कार्यक्रममा भएको बिबाद र नाराबाजीकाबीचमा आफ्नो धारणा राख्ने अवस्था नभएका कारण प्रतिवद्धता जनाउन नसकिएको जनाएको छ ।

सोही अनुसार आज यो त्रुटिको ध्यानाकर्षणसहित निर्वाचनका पक्षमा रहेको यो पत्रमार्फत प्रतिबद्ध रहेको जनाएको छ ।

दिउँसो १ बजे महासचिव पोखरेलको नेतृत्वमा उपमहासचिव एवं निर्वाचन विभाग प्रमुख विष्णु रिमाल र कानून विभाग प्रमुख रमेश बडालसहितको टोली आयोगमा गएर पत्र बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस