Latest News

बन्ने भयो एकीकृत समाजवादीबाहेकको चुनावी गठबन्धन, ४ दलको बैठकले गर्यो महत्वपूर्ण निर्णय

Nepalese Times April 7, 2022 (2 Year ago)    690 Views

काठमाडौं । सत्तारुढ ५ दलहरुबीच देशभर चुनावी तालमेल गर्ने निर्णय भएको छ । गठबन्धनले स्थानीय तहको निर्वाचनमा देशभर गठबन्धन गरेर जाने सहमति गरे पनि लुम्बिनी प्रदेशमा भने नेकपा एकीकृत समाजवादी बाहेकको गठबन्धन बनेको छ।

एकीकृत समाजवादीबाहेकका सत्तारुढ दलहरुको बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरिएको र निर्वाचनलाई लक्षित गरी प्रदेश स्तरीय संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको छ ।

बुधबार लुम्बिनी प्रदेशसभामा नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादीबाहेक चार दलका प्रदेशस्तरीय नेताहरुको बैठक बसेको थियो।

बैठकमा माओवादी केन्द्रका लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणी खनाल बलदेव, प्रदेश अध्यक्ष सुदर्शन बराल, नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुन, जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका प्रदेश उपाध्यक्ष बद्रे आलमलगायत सहभागी भएका थिए ।

बैठकमा एकीकृत समाजवादीबाट भने कोही सहभागी भएका थिएनन् । बैठकपछि जारी भएको संयुक्त विज्ञप्तिमा चार दलका प्रदेश अध्यक्षको हस्ताक्षर रहेको छ ।

बैठकमा तत्काल सबै स्थानीय तहमा गठबन्धनको संयन्त्र निर्माण गर्ने, नियमित बैठक बस्ने र मत विश्लेषण सहितको रिपोर्ट पेश गर्ने र स्थानीय पालिका र जिल्लाले गरेका सहमतिहरुलाई सकारात्मक रुपमा ग्रहण गर्ने निर्णय गरेका छन्।

विज्ञप्तिमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरिएको र निर्वाचनलाई लक्षित गरी प्रदेश स्तरीय संयुक्त चुनावी सभा गर्ने निर्णय समेत गरिएको छ।

यसअघि मंगलबार गुल्मीको मालिका गाउँपालिकामा अन्य दलहरुको जनआधार न्यून रहेको भन्दै कांग्रेस र माओवादी केन्द्रलाई मात्र पद बाँडफाँड भएको थियो।

प्रतिक्रिया दिनुहोस