Latest News

किन पुग्यो एमाले महासचिव पोखरेल नेतृत्वको टोली निर्वाचन आयोग ?

Nepalese Times April 7, 2022 (2 Year ago)    568 Views

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोली निर्वाचन आयोग पुगेकाठे छ । स्थानीय तह निर्वाचन आचारसंहिताको विषयमा छलफल गर्न भन्दै महासचिव पोखरेल नेतृत्वको टोली आयोग पुगेको हो ।

महासचिव शंकर पोखरेलको नेतृत्वमा उपमहासचिव विष्णु रिमालसहितका प्रतिनिधि आयोगको कार्यालय बहादुरभवन पुगेका हुन्।यसअघि, एमालेले आयोगले जारी गरेको आचारसंहिता संविधान र कानूनसँग मेल नखाने भन्दै अस्वीकार गरेको थियो।

सामाजिक सञ्जाल प्रयोग गर्न नपाइने र एनजीओमा काम गर्नेलाई भोट माग्न रोक लगाइएको विषयमा उसले आपत्ति जनाएको थियो।

एमालेले पालना तथा अनुगमनको दायरामा ल्याउन नसकिने विषय आचारसंहितामा राखिएको भन्दै मंगलबार बसेको सर्वदलीय बैठकमा समेत हस्ताक्षर गरेको थिएन। उसले आचारसंहिता नमान्ने चेतावनीसमेत दिएको थियो।

आयोगले हालै मात्र पास गरेको आचार संहितामा राजनीतिक दलका भ्रातृ संगठनले पनि प्रचार प्रसार गर्न नपाउने व्यवस्था राखेको भन्दै एमालेले ध्यानाकर्षण गराउन लागेको हो ।

यस्तै निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागु हुने मिति तोकेको छ । आयोगले भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगका एक आयुक्तका अनुसार बिहीबारदेखि लागू गर्ने तयारी गरे पनि सम्भव नदेखिएकाले शुक्रबारबाट लागू गर्न लागिएको हो। उनका अनुसार आयोगले यसअघि दलहरुलाई आचारसंहिता पालना गराउन प्रतिवद्धता गरेकाले अव लागू हुने बताए।

निर्वाचन आयोगले चैत ३ गते निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको थियो। उक्त आचारसंहिताको एक बुदाँमा भने सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

आयोगले सामाजिक सञ्जालदेखि उम्मेद्वार र अन्यलाई निर्वाचनमा गर्न नपाउने व्यवस्था समावेश गरेर आचारसंहिता जारी गरेको छ। वहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो।

केही दिनअघि आयोगले निर्वाचनमा भाग लिने दलहरुसँग प्रतिवद्धता जनाउन छलफल पनि गरेको थियो। आचारसंहिता लागेपछि सरकारले सरुवाबढुवालगायत निर्णय गर्न पाउने छैन।

प्रतिक्रिया दिनुहोस