Latest News

एउटै चुनाव चिन्हबाट चुनाव लड्न सत्ता गठबन्धनले गर्यो यस्तो तयारी

Nepalese Times April 7, 2022 (2 Year ago)    2355 Views

काठमाडौं । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको सत्तारुढ दलहरुले देशभर सक्रियता बढाएका छन् । देशभर कुन पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने बहस चलिरहेको समयमा धरान उपमहानगरपालिकामा भने फरक ढंगले गठबन्धन हुने भएको छ ।

यो उपमहानगपालिका भित्र एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने उनीहरुको तयारी रहेको छ । धरानमा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, नेकपा एकिकृत समाजवादी र जसपाका नेताहरुले एउटै चुनाव चिन्हबाट चुनाव लड्ने तयारी गरेका हुन् ।

एउटै चुनाव चिन्हबाट निर्वाचनका जानका लागि कानुनी जटिलता समाधानका बारेमा छलफल भइरहेको नेकपा माओवादी केन्द्रका एक नेताले बताए ।

मेयर र उपमेयरमा आ–आफ्नै चुनाव चिन्हबाट लड्ने र वडामा अध्यक्षदेखि सदस्यहरु जुनसुकै दलबाट भए पनि एउटै चुनाव चिन्हबाट लड्ने तयारी भभएको गठबन्धनका एक नेताले बताए ।

माओवादीले टिकट पाएको वडामा गठबन्धनका सदस्यले हसिया हतौडाबाटै उम्मेद्वारी दिने र काङ्ग्रेसले टिकट पाएको वडामा रुखबाटै वडा अध्यक्ष र सदस्यको उम्मेदवारी दिने ती नेताले बताए ।

गठबन्धनको बैठकमा एउटै चुनाव चिन्हबाट उम्मेदवार बन्ने विषयमा छलफल भए पनि निर्णय भने नभएको नेपाली कांग्रेस धरानका नगरसभापति श्याम पोखरेलले बताए ।

वडामा छुट्टा छुट्टै चुनाव चिन्हबाट उम्मेदवार बन्दा मत बदर हुने सम्भावना बढी भएका कारण एउटै चुनाव चिन्हबाट चुनाव लड्ने तयारी गरेका हुन् । मंगलबार धरानमा गठबन्धनको बैठक बसेको थियो । बैठकले वडा तहको भागवण्डामा लगभग सहमति गरेको छ । नेपाली कांग्रेस र अन्य दलले ६०–४० का आधारमा भागवण्डा गर्ने विषयमा लगभग सहमति भएको हो ।

कांग्रेस सभापति पोखरेल भने सहमति भइनसकेको बताउँछन् । धरानमा कांग्रेसले मेयरसहित १५ वटा वडामा दाबी गरेको बताउँदै उनले निष्कर्षमा पुग्न बाँकी रहेको बताए ।

धरानको मेयरमा गठबन्धन दल नेपाली कांग्रेसबाट तिलक राई, किशोर राई, उमेश थापालगायतको दाबेदारी छ । माओवादी केन्द्रबाट आइन्द्रबिक्रम बेघा, सभाषद किरण राईको दाबी छ ।

नेकपा एमालेबाट उपमेयर मञ्जु भण्डारीसहित आधा दर्जन आकांक्षी छन् । एमाले नेताहरुका अनुसार धरानको मेयरमा मुरारी सुवेदी, बिजय राई, मोतीराज सुनुवार, प्रकाश राई, पूर्व मेयर मनोज मेन्याङ्बोलगायत दाबेदार छन् । २०७४ को निर्वाचनमा धरानमा नेकपा एमाले मेयर उपमेयरसहित १४ वटा वडामा विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस