Latest News

‘विप्लव’ नेकपाका प्रवक्ता ‘प्रकाण्ड’ किन पुगे निर्वाचन आयोग ?

Nepalese Times April 7, 2022 (2 Year ago)    856 Views

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निर्वाचन आयोग पुगेका छन् । प्रकाण्ड केहीबेरअघि आयोगको बहादुरभवनस्थित कार्यालयमा देखिएका हुन् । विप्लव नेतृत्वको नेकपा आयोगमा दर्ता छैन ।

केही दिनअघि बसेको केन्द्रीय कमिटी बैठकमा स्थानीय चुनावको उपयोग गर्ने वा नगर्ने विषयमा दुईधार देखिएको थियो । चुनावलाई उपयोग गरेर जाने महासचिव विप्लवको प्रस्ताव अल्पमतमा परेको थियो ।

यद्यपि बैठकले चुनावको विपक्षमा पार्टीलाई उभिँदै कोही कसैलाई उम्मेदवारी दिन भने नरोक्ने निर्णय गरेको थियो ।

त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोली निर्वाचन आयोग पुगेका छन् । स्थानीय तह निर्वाचन आचारसंहिताको विषयमा छलफल गर्न भन्दै महासचिव पोखरेल नेतृत्वको टोली आयोग पुगेको हो ।

महासचिव शंकर पोखरेलको नेतृत्वमा उपमहासचिव विष्णु रिमालसहितका प्रतिनिधि आयोगको कार्यालय बहादुरभवन पुगेका हुन्।यसअघि, एमालेले आयोगले जारी गरेको आचारसंहिता संविधान र कानूनसँग मेल नखाने भन्दै अस्वीकार गरेको थियो।

सामाजिक सञ्जाल प्रयोग गर्न नपाइने र एनजीओमा काम गर्नेलाई भोट माग्न रोक लगाइएको विषयमा उसले आपत्ति जनाएको थियो।

एमालेले पालना तथा अनुगमनको दायरामा ल्याउन नसकिने विषय आचारसंहितामा राखिएको भन्दै मंगलबार बसेको सर्वदलीय बैठकमा समेत हस्ताक्षर गरेको थिएन। उसले आचारसंहिता नमान्ने चेतावनीसमेत दिएको थियो।

आयोगले हालै मात्र पास गरेको आचार संहितामा राजनीतिक दलका भ्रातृ संगठनले पनि प्रचार प्रसार गर्न नपाउने व्यवस्था राखेको भन्दै एमालेले ध्यानाकर्षण गराउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस