Latest News

कांग्रेसका पूर्वजिल्ला सभापति नै एमालेमा प्रवेश

Nepalese Times April 7, 2022 (2 Year ago)    629 Views

काठमाडौं । नेपाली कांग्रेस नुवाकोटका पूर्वउपसभापति यमबहादुर थापा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको निवासमा पुगेर उनी बिहीबार बिहान एमाले प्रवेश गरे हुन् । उनीसहित कांग्रेसका अर्का नेता भगवान पौडेल पनि एमालेमा प्रवेश गरेको मैनालीले बताए ।

कांग्रेसको १४ औँ महाधिवेशनमा पञ्चकन्या गाउँपालिकाको सभापतिमा ६ मतको अन्तरमा पराजित भएका थापा साविक भद्रुटार गाविसका निर्वाचित गाविस अध्यक्षसमेत हुन् । नुवाकोटमा २०५४ मा अधिकांश स्थानमा एमाले र राप्रपाले जित्दा उनी कांग्रेसबाट विजयी भएका थिए ।

यस्तै नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी बाँकेका उपसचिव ईश्वर थापा एमालेमै फर्कने भएका छन् ।

उनीसहित नेकपा एसकै युवा संघका केन्द्रीय सदस्य राजु तामाङसहित पाँच सयजनाको पार्टी प्रवेश कार्यक्रम तय गरिएको एमाले जिल्ला सचिव रत्न खत्रीले बताए । अध्यक्ष केपी शर्मा ओलीले आज उनीहरुलाई एमालेमा स्वागत गर्दैछन् ।

‘एसका उपसचिवको नेतृत्वमा पाँच सयभन्दा बढी नेकपा एसका कार्यकर्ता एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको छ’, सचिव खत्रीले भने, ‘त्यसका अलावा मओवादी, अन्य दलबाट पार्टी प्रवेश गर्नेको संख्या उल्लेख्य हुनेछ ।’

यस्तै लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन दलको बैठकमा नेकपा एसको सहभागिता नभएको विज्ञप्ति बाहिर आएको छ । पाँचै दल क्रियाशील रहेको लुम्बिनीमा नेकपा एसको सहभागितबिना अन्य दलको हस्ताक्षरसहितको गठबन्धन गर्ने निर्णय बाहिर आएपछि चर्चाको विषय बनेको छ ।

नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले नेकपा एसको बैठकमा सहभागिता नभएको बताए । नेकपा एसका केन्द्रीय सदस्य सिद्विचरण भट्टराईले ढिला सूचना भएको, प्रदेश अध्यक्ष मेटमणि चौधरी काठमाडौंमा रहेको र अरूको अन्य बैठक भएकाले जान नभ्याएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस