Latest News

कांग्रेसको तर्फबाट सांसद डिला संग्रौला पनि महानगरपालिका मेयरमा उठ्ने

Nepalese Times April 7, 2022 (2 Year ago)    2024 Views

काठमाडौं । यो समाचार तयार पार्दासम्म स्थानीय तहको निर्वाचन आउन अब मात्रै ३६ दिन बाँकी छ । झण्डै एक महिना मात्रै समय बाँकी रहँदा राजनीतिक दलहरुको सरगर्मी ह्वात्तै बढेको छ ।

अहिले राजनीतिक दलहरु स्थानी तह महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा उम्मेदवार चयन गर्नेबारे छलफलमा जुगेका छन् । आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी चयन गर्ने काम धमाधम भइरहेको छ ।

यसैक्रममा नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पनि महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दिने तयारीमा छिन् । उनले मोरङको विराटनगर महानगरपालिकामा मेयरको उम्मेदवारी दिने तयारी गरेकी हुन् ।

यो महानगरपालिकामा कांग्रेसको तर्फबाट संग्रौलाको चर्चा सुरु भएसँगै नेकपा एमालेले पनि बलियो उम्मेदवारी चयन गर्ने तयारी गरेको छट ।

विराटनगर महानगरपालिका मेयरको सम्भावित उम्मेदवारको रुपमा नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डित चर्चामा रहेका छन् ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डित पार्टीको प्रचारका लागि घरदैलो अभियानमा सक्रिय बनेका छन् ।

बुधवार पनि पण्डित विराटनगर महानगरपालिकाको वडा नम्बर ४ मा घरदैलो कार्यक्रममा सहभागी भएका थिए । पूर्वमन्त्री पण्डितले आफैं अटो रिक्सा चलाएको तस्वीर फेसबुकमा राखेका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विराटनगरमा एमालेले ‘हेवी वेट’ नेतालाई उम्मेदवार बनाउने तयारी गरेको छ । यसअघि २०७४ सालको चुनावमा कांग्रेसले जितेको विराटनगर महानगरको नतिजा उल्टाउने एमालेको दाउ छ ।

एमालेका नेताहरूले मेयरको चर्चा गरे पनि लालबाबुले यसबारे मुख खोलेका छैनन् । नेकपा एमालेले केन्द्रीय नेताहरूलाई स्थानीय तहको चुनावी अभियानमा खटाएको छ ।

स्थानीय तहमा जिताएको आधारमा प्रतिनिधि सभामा टिकट वितरण गर्ने एमाले अध्यक्ष केपी ओलीले संसदीय दलको बैठकमा बताएका थिए ।

प्रतिक्रिया दिनुहोस