Latest News

भत्किने भयो सत्ता गठबन्धन, प्रचण्ड पुत्री रेनु दाहालले गरिन् यस्तो घोषणा

Nepalese Times April 6, 2022 (2 Year ago)    1188 Views

चितवन । केन्द्रमा सत्तारुढ दलहरुबीच चुनावी तालमेल गर्ने सहमति भए पनि चितवनको भरतपुर महानगरपालिकामा भने सत्ता गठबन्धनमा खटपट सुरु भएको छ ।

भरतपुरमा यो पटक मेयर कुनै पनि हालतमा नछाड्ने कांग्रेस चितवनको अडान छ । कांग्रेस चितवनले यस्तो अडान राख्दै गर्दा माओवादी केन्द्रले पनि भरतपुरमा आफूहरुकै मेयर हुनुपर्ने अडानसहित अघि बढेको छ ।

अरूका लागि प्रतिष्ठाको विषय हुन्छ भने हाम्रा लागि झनै हुने भन्दै भरतपुरका मेयर रेनु दाहालले आफूहरुले भरतपुरमा काम गरेर देखाएकोले आफूहरुको आधार रहेकोले भरतपुर महानगर नछाड्ने बताइन् ।

सत्तारुढ गठबन्धनमा सहमति जुट्ने भन्दै उनले नभए माओवादीले एक्लै भएपनि चुनाव लड्ने घोषणासमेत गरिन् । माओवादी केन्द्रमा मेयरको उम्मेदवारमा आफ्नो नाम निर्विकल्प रहेको भन्दै उनले आफूनै फेरि पनि मेयरको उम्मेदवार भएको घोषणा गरिन् ।

सुरुमा मेयरको उम्मेदवारका रूपमा आउँदा महानगरवासीले आफूर्ला राम्रोसँग नचिनेको भन्दै उनले जब पाँच वर्षको कार्यकाल बित्यो, अब रेनु दाहाल हो भनेर परिचय दिनुपर्ने स्थिति नरहेकाने बताएकी छिन् ।

आफू जे प्रतिबद्धता लिएर चुनावी मैदानमा आएको हो त्यसमा अल्पकालीन र केही दीर्घकालीन कुरा रहेको भन्दै उनले भने, ‘घोषणापत्रमा उल्लेख गरेका सबै कार्यान्वयन हुन सकेनन् होला, तर हामीले भनेको भन्दा धेरै ठूला परियोजना अगाडि बढाएका छौं । नारायणी तटबन्धका लागि ४ अर्ब ७२ करोड बजेटको सुनिश्चितता गरेका छौं । अन्तर्राष्ट्रियस्तरको सभागृह सिटी हल निर्माण भएको छ ।

अब दोस्रो कार्यकालमा दोहोरिने व्यक्तिगत रूपमा इच्छा नरहेको तर पाँच वर्षमा विकासको जे काम थालनी भएको छ त्यसलाई सम्पन्न गर्नुपर्छ र फेरि उठ भन्यो भने फेरि तयार हुनुपर्ने उनले बताइन् ।

देशको संघीय राजधानी भएको काठमाडौं महानगरमा प्रतिष्ठाको विषय बन्नुपथ्र्यो, तर भरतपुर बनिरहेको भन्दै उनले हरेक राजनीतिक दलको गतिविधि भरतपुर केन्द्रित रहेको रकामको हिसाबले महानगरवासी विश्वस्त भएका, तर राजनीतिक रूपमा आक्रमण र घेराबन्दी भइरहेको बताइन् ।

राष्ट्रिय राजनीतिमा माओवादी केन्द्र र त्यसको नेतृत्वको हिसाबले अध्यक्ष प्रचण्डकै वरिपरि घुमेको छ भन्ने यो पुष्टि हो भन्ने लागेको भन्दै उनले पाँच वर्षमा आफ्नो बुद्धि, विवेक भरपुर प्रयोग गरेको र यसको मूल्यांकनको जिम्मा दिन चाहेको बताए ।

पाँच वर्षमा विकासको जे काम थालनी भएको छ, त्यसलाई सम्पन्न गर्नुपर्छ, फेरि उठ भन्यो भने फेरि तयार हुनुपर्ने भन्दै उनले मुख्य कुरा पार्टीले के भन्छ, त्यही रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस