Latest News

देउवालाई प्रचण्डको टेलिफोन – भरतपुरमा रेनुलाई सहयोग नगर्ने हो भने कांग्रेससँग गठबन्धन गर्दैनौँ

Nepalese Times April 6, 2022 (1 Year ago)    2789 Views

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट को उम्मेदवार बन्ने भन्ने चासो बढेको छ । भरतपुरमा विशेषगरी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफूखुशी चुनावी अभियान सुरु गरिसकेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल फेरि एकपटक मेयर बन्ने दाउमा रहेकी र नेपाली कांग्रेसले पनि कुनै पनि हालतमा आफूहरुले भरतपुरमा छाड्न नसक्ने अडान लिएपछि यो महानगरपालिका अहिले विशेष चासोको रुपमा हेरिएको छ ।

भरतपुर कांग्रेसले नै भरतपुरमा कांग्रेसलाई नछाड्ने हो भने तालमेल नगर्ने भनेर औपचारिक निर्णय नै गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेका छन् ।

उनले देउवासँग भने, – ‘भरतपुरमा कांग्रेसको जिल्ला समितिले कुनै पनि हालतमा नछाड्ने भनेर निर्णय नै गरिसकेको रहेछ, तपाईले केन्द्रबाट त्यसैअनुसारको दबाब दिनुपर्यो । माओवादीले भरतपुर महानगरको टिकट नपाउने हो भने त हामी कांग्रेससँग गठबन्धन गर्दैनौँ ।’

जवाफमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवाले आफूले साथिहरुको चित्त बुझाउने काम गरिरहेको र अहिले नै चुनावी तालमेल भत्काउने कुरा नगर्न भनेका थिए । उनीहरुबीच स्थानीय तहसहित संघीय चुनावमा समेत केन्द्रबाटै उम्मेदवारी बाँडफाँड हुनुपर्ने र केन्द्रबाटै हस्तक्षेप हुनुपर्ने भन्नेबारेसमेत कुराकानी भएको स्रोतले जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवालाई फोन गरेलगत्तै कांग्रेसले तत्काल उम्मेदवार तय नगर्न भन्दै नयाँ सर्कुलरसमेत जारी गरेको छ । कांग्रेसले सबै जिल्ला समितिलाई अहिले नै उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरेको हो ।

कांग्रेसले केन्द्रीय तहमा सत्ता साझेदार दलबीच गठबन्धनको मोडालिटी बन्दै गरेका कारण तत्काल उम्मेदवार नतोक्न जिल्ला समितिलाई निर्देशन दिएको हो ।

‘केन्द्रमा तालमेलको मोडालिटी बन्दै छ, अहिले नै उम्मेदवार तय गर्दा तालमेलमा असर पर्न सक्छ, त्यही कारण केन्द्रबाट निर्देशन नुहँदासम्म प्रमुख उपप्रमुख नतोक्न भनिएको हो,’ कांग्रेस स्रोतले भन्यो ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने विधानअनुसार उम्मेदवार चयन गर्न आवश्यक पर्ने सबै काम समयसीमाभित्रै गर्न भनिएको तर निर्णय भने तत्काल ‘होल्ड’ गर्न निर्देशन गरिएको जानकारी दिए ।

‘विधानको व्यवस्थाअनुसार तोकिएको समय सीमाभित्र तहगत रूपमा गर्नुपर्ने काम सबै सक्न सर्कुलर गरिएको छ तर निर्णय चाहीँ केन्द्रको निर्देशन नहुँदासम्म होल्ड गर्न भनिएको छ,’ कांग्रेस मुख्यसचिव पौडेलले भने ।

पाँच दलीय सत्ता गठबन्धनले मंगलबार मात्रै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा चुनाव तयारी समिति बनाएको थियो । सो समितिलाई देशभरका स्थानीय तहमा दलको अवस्थाअनुसार तालमेलको मोडालिटी बनाउने अधिकार छ ।

प्रतिक्रिया दिनुहोस