Latest News

कांग्रेसले फेरि जारी गर्यो अर्को नयाँ सर्कुलर, उम्मेदवारी घोषणाको तयारीमा रहेकाहरु तनावमा

Nepalese Times April 6, 2022 (1 Year ago)    2622 Views

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको जिल्ला समितिलाई स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवार तत्काल नतोक्न सर्कुलर जारी गरेको छ । कांग्रेसले सबै जिल्ला समितिलाई अहिले नै उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरेको हो ।

कांग्रेसले केन्द्रीय तहमा सत्ता साझेदार दलबीच गठबन्धनको मोडालिटी बन्दै गरेका कारण तत्काल उम्मेदवार नतोक्न जिल्ला समितिलाई निर्देशन दिएको हो ।

‘केन्द्रमा तालमेलको मोडालिटी बन्दै छ, अहिले नै उम्मेदवार तय गर्दा तालमेलमा असर पर्न सक्छ, त्यही कारण केन्द्रबाट निर्देशन नुहँदासम्म प्रमुख उपप्रमुख नतोक्न भनिएको हो,’ कांग्रेस स्रोतले भन्यो ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने विधानअनुसार उम्मेदवार चयन गर्न आवश्यक पर्ने सबै काम समयसीमाभित्रै गर्न भनिएको तर निर्णय भने तत्काल ‘होल्ड’ गर्न निर्देशन गरिएको जानकारी दिए ।

‘विधानको व्यवस्थाअनुसार तोकिएको समय सीमाभित्र तहगत रूपमा गर्नुपर्ने काम सबै सक्न सर्कुलर गरिएको छ तर निर्णय चाहीँ केन्द्रको निर्देशन नहुँदासम्म होल्ड गर्न भनिएको छ,’ कांग्रेस मुख्यसचिव पौडेलले भने ।

पाँच दलीय सत्ता गठबन्धनले मंगलबार मात्रै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा चुनाव तयारी समिति बनाएको थियो । सो समितिलाई देशभरका स्थानीय तहमा दलको अवस्थाअनुसार तालमेलको मोडालिटी बनाउने अधिकार छ ।

कांग्रेसले पार्टीगत रूपमा निर्वाचनको विषयमा काम गर्नेगरी उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिइसकेको आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस