Latest News

ओलीले एमाले प्रवेश गराएका गाउँपालिका अध्यक्ष डल्लाकोटी भोलिपल्टै माओवादीमा फर्किए, निकाले यस्तो विज्ञप्ति

Nepalese Times April 5, 2022 (2 Year ago)    1667 Views

काठमाडौं । नेकपा एमालेमा प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी हरि फेरि नेकपा माओवादी केन्द्रमा नै फर्किएका छन् ।

सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गराएका डल्लाकोटी मंगलबार एक विज्ञप्ति जारी गर्दै माओवादीमै फर्किएका हुन् ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर एमाले प्रवेश गरेका उनले मंगलबार विज्ञप्ति जारी गर्दै आफू माओवादी केन्द्रमा नै रहेको बताएका छन् ।

उनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘म भित्र क्षणिक आक्रोश र आवेगमा आई राजनीतिक रुपमा गम्भीर गल्ती कमजोरी हुन गई समग्र पार्टी, बेनिघाट रोराङ र धादिङको पार्टी पंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर आत्माआलोचना गर्न चाहन्छु ।’

डल्लाकोटी मंगलबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेर पार्टीमा फिर्ता हुने तयारी रहेको नेकपा माओवादी केन्द्र धादिङका अध्यक्ष मनराज भण्डारीले जानकारी दिए ।

झण्डै १५ वर्ष अगाडि एमाले राजनीतिमा सक्रिय डल्लाकोटी माओवादी शान्ति प्रक्रियामा आएसँगै माओवादी पार्टी प्रवेश गरेका थिए । गत स्थानीय तहको निर्वाचनमा धादिङबाट स्थानीय तहको प्रमुख पदमा निर्वाचित हुने उनी एक्ला उम्मेदवार हुन् ।

माओवादी युद्धमा सक्रिय केही नेता कार्यकर्ताले उनीमाथि अवसर लिन माओवादी पार्टीमा आएको भन्दै सार्वजनिक रूपमा आलोचना गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस