Latest News

भरतपुरमा माओवादीले सुरु गर्यो चुनावी अभियान, कांग्रेससँग गठबन्धन के होला ?

Nepalese Times April 5, 2022 (2 Year ago)    635 Views

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले चुनावी अभियान सुरु गरेको छ । सत्तारुढ दलहरुबीच चुनावी तालमेल गर्ने सहमति हुँदा भरतपुरमा कांग्रेसले दाबी प्रस्तुत गरेको छ । तर, माओवादी केन्द्रले पनि चुनावी अभियान सुरु गरेको छ ।

भरतपुरमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल दाबेदार छिन् । पहिले गरेको कामको निरन्तरताका लागि पनि आफू फेरि एकपटक मेयरमा दाबेदार रहेको दाहालको भनाइ छ ।

सत्ता गठबन्धनबीच चुनावी तालमेलको गृहकार्य चलिरहेको समयमा माओवादी केन्द्रले जितेको एकमात्र महानगर चितवनको भरतपुरमा चुनावी रौनक बढेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर माओवादी केन्द्रले भरतपुरमा दिनहुँ जसो चुनावी अभियान संचालन गरिरहेको छ ।

मंगलवार भरतपुर ९ मा घरदैलो अभियान संचालन गरिएको स्थानीय नेता प्रमोद तिवारीले जानकारी दिए । ‘गाउँ नगर घर घर जाउँ, माओवादी केन्द्रलाई जिताऔँ’ भन्ने नारा साथ माओवादीले देशभर चुनावी अभियान संचालन गरिरहेको छ ।

चुनावी तालमेलको लागि भरतपुर महानगरमा सहमति गर्न गठबन्धनलाई समस्या परेको छ । नेपाली कांग्रेसका स्थानीय नेताले तालमेल नगर्न आग्रह गरिरहेका छन् ।

यसअघिको निर्वाचन जितेको ठाउँ सम्बन्धित दलले लिने गरी तालमेलको मापदण्डमा गठबन्धनबीच छलफल चलिरहेको छ । पाँच वर्षमा राम्रो काम गरेको भन्दै माओवादीले भरतपुरको मेयरमा रेणु दाहाललाई नै अगाडि सार्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस