Latest News

स्थानीय चुनावमा उम्मेदवार टुंगो लगाउनेबारे कांग्रेसले जारी गर्यो नयाँ सर्कुलर

Nepalese Times April 5, 2022 (12 Month ago)    1780 Views

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका उम्मेदवारी टुंगो लगाउनेबारे नयाँ सर्कुलर जारी गरेको छ । स्थानीय तहको चुनावका लागि तत्काल उम्मेदवारको टुंगो नलगाउन मातहतका कार्य समितिहरुलाई कांग्रेसले सर्कुलर जारी गरेको हो ।

आसन्न निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन पार्टीका वडा, पालिका, क्षेत्रीय र जिल्ला कार्यसमितिहरूले छलफल अगाडि बढाइरहेका बेला कांग्रेसले यस्तो सर्कुलर गरेको हो।

कांग्रेस कञ्चनपुरका सचिव भीम भट्टका अनुसार कांग्रेस केन्द्रीय कार्यालय सानेपाले उम्मेदवार सिफारिससम्बन्धी कामहरु तत्कालका लागि यथास्थितिमा राख्न निर्देशन दिएको हो ।

अहिलेसम्म जे जति काम भएको छ त्यसलाई अहिले होल्ड राख्न केन्द्रीय कार्यालयबाट टेलिफोनमा भनिएको उनको भनाइ छ ।

यसअघि उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मातहतलाई परिपत्र गरेर उम्मेदवार टुंग्याउने समयावधि तोकिएको थियो ।

जसअनुसार वडा कार्यसमितिले चैत २१ र पालिकाले चैत २३ सम्म उम्मेदवार टुङ्ग्याएर नामावली बुझाउन निर्देशन दिइएको थियो।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २५, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २७, जिल्ला कार्यसमितिले चैत २९ र प्रदेश कार्यसमितिलाई वैशाख १ गतेसम्म उम्मेदवारको टुंगो लगाएर नामावली पठाउन भनिएको थियो।

प्रतिक्रिया दिनुहोस