Latest News

गठबन्धन : आठै स्थानीय तहमा तालमेल गर्ने निर्णय

Nepalese Times April 5, 2022 (1 Year ago)    672 Views

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरूले लमजुङमा पनि चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । गठबन्धनमा आबद्ध दलहरूको जिल्ला समितिको बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्लाका आठवटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति डा. टकराज गुरुङको अध्यक्षतामा बसेको बैठकले गुरूङको संयोजकत्वमा स्थानीय तह निर्वाचन जिल्ला संयन्त्र बनाउने निर्णय पनि गरेको छ ।

संयन्त्रमा नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय संयोजक मधु अधिकारी गुरुङ, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष रामबाबु अधिकारी र जनता समाजवादी पार्टी जसपाका जिल्ला अध्यक्ष गमबहादुर तामाङ सदस्य छन् ।

यस्तै सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेलका लागि तयारी तथा अनुगमन समिति गठन गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो।

समितिमा पाँचै दलबाट सदस्यहरु पठाउने दलहरुबीच सहमति भएको छ। बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले मंगलबार नै दलहरुले नाम दिने जानकारी दिइन्। उनकाअनुसार तयारी तथा अनुगमन समितिको बैठक बुधबार बस्ने छ।

बैठकले तल्लो तहबाट आएका प्रतिवेदनका आधारमा तालमेलको मोडालिटीबारे निर्णय गर्ने समझदारी बनेको पौडेलले बताइन्।

यस्तै बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले साझेदार दलहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणबारे ‘ब्रिफिङ’ गरेको जानकारी दिए।

उनले बैठकमा स्थानीत तह निर्वाचनको तयारीका बारेमा छलफल भएको पनि बताए। ‘स्थानीय निर्वाचन तयारी र पाँच दलबीच तालमेल गरेर कसरी अगाडि बढ्ने भन्ने बारेमा प्राविधिक विषयमा कुराकानी भयो,’ नेता खनालले भने।

उनले बैठकमा मुलुकको अर्थतन्त्रका बारेमा सरकारको ध्यानाकर्षण गराइएको पनि बताए। ‘अर्थतन्त्रको बारेमा सरकारले गम्भीरतापूर्वक लिनुप¥यो भन्ने बारे छलफल भयो,’ खनालले भने।

प्रतिक्रिया दिनुहोस