Latest News

काठमाडौं महानगरपालिकाको मेयरमा रवीन्द्र मिश्रले उम्मेदवारी दिने !

Nepalese Times April 5, 2022 (2 Year ago)    610 Views

काठमाडौं । स्थानीय तहको चुनाव आउन अब १ महिना मात्रै बाँकी छ । चुनावको मिति घोषणा भएसँगै उम्मेदवारको चर्चासमेत सुरु भएको छ ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै काठमाडौं महानगरपालिकाको मेयरमा विभिन्न दलका नेताहरु उम्मेदवार दिने तयारीमा लागेका छन् ।

विभिन्न पार्टीभित्र पनि कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफलमा जुटेका छन् । विशेष स्रोतका अनुसार विवेकशील साझा पार्टीका नेताहरुले अध्यक्ष रवीन्द्र मिश्रलाई काठमाडौं महानगरको मेयरमा उठ्नुपर्ने सुझाव दिएका छन् । केही नेताहरुले अध्यक्ष मिश्रनै मेयरमा उठ्नुपर्ने सुझाव दिएका र यसबारेमा पार्टीभित्र औपचारिक छलफल भने नभएको एक नेताले बताए ।

यस्तै काठमाडौं महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट सुरेन्द्र्र्रप्रसाद मिश्रले उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेस काठमाडौं महानगरपालिका समितिका पूर्व सभापति समेत रहेका मिश्र कांग्रेसका पुराना नेता मध्येका एक हुन् ।

काठमाडौं महानगर समितिको लगातार तीन कार्यकाल पार्टी सभापति भएका मिश्रले मेयर पदमा सहयोग गर्न सार्वजनिक अपिल समेत गरेका छन् ।

आफू काठमाडौं महानगरपालिकाको मेयरमा बिजयी भए काठमाडौंलाई सफा, सुन्दर र व्यवस्थित शहरको रुपमा विकास गर्ने योजना समेत आफूसंग रहेको उनले बताएका छन् ।

नेपाली कांग्रेस काठमाण्डौं महानगरपालिका नगर कार्यसमितिको निरन्तर तीन कार्यकाल सभापति तथा संगठनका विभिन्न पदहरु र आन्दोलनहरुमा पनि आफूले कुशलतापूर्वक भूमिका निर्वाह गरेको र महानगरवासीहरुकै सेवा गर्ने उत्कट चाहानाले गर्दा अहिलेसम्म अरु कुनै पनि पदमा दावी नगरेको उनले बताएका छन् ।

उनले काठमाण्डौंको कोर एरियामा जन्मेर हुर्केको व्यक्ति भएकोले यावत् समस्याहरु आफूलाई राम्ररी जानकारी रहेको र शहरलाई कसरी सफा, सुन्दर, व्यवस्थित वनाउने भावी योजनाहरु पनि रहेकोले मेयरमा उठ्ने घोषणा गरेको उनले बताएका छन् ।

कांग्रेसमा एक इमन्दार नेताको रुपमा परिचय बनाउन सफल भएका मिश्रले विगतदेखी नै लोकतान्त्रिक आन्दोलनमा सक्रिय थिए । कांग्रेसको राजनीतिमा सक्रिय मिश्र काठमाडौंका जनताका बीच लोकप्रिय भएकाले पार्टीले समेत उनलाई मेयरको उम्मेदवार बनाउने चर्चा चलिरहेको छ ।

कांग्रेस सहित विभिन्न पार्टीबाट उम्मेदवारका आकांक्षीहरुले मेयरमा उम्मेदवारी दिने भन्दै आफ्ना योजनाहरु सार्वजनिक गर्न थालेका छन् । आफू विजयी भए आफूले गर्ने कामहरु सार्वजनिक गर्दै उनीहरुले मतदातालाई रिझाउन सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस