Latest News

कांग्रेसको मान्छे कुट्ने एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष राईलाई प्रहरीले समात्यो

Nepalese Times April 4, 2022 (2 Year ago)    906 Views

इलाम । इलामको फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राईलाई प्रहरीले समातेको छ । उनलाई मानिसहरुलाई हातपात गरेको अभियोगमा समातिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

केही दिन अघि सोही पालिकाका वडा नम्बर १ का वडासदस्य कृष्णबहादुर खड्कालाई हातपात गरेपछि उपाध्यक्ष राईलाई इलाम प्रहरीले नियन्त्रणमा लिएको हो।

खड्कालाई उपाध्यक्ष राईले गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठको निवासमा पसेर हातपात गरेकी थिइन्। कुटपिटपछि घाइते खड्काले प्रहरीमा जाहेरी दिएका थिए।

घाइते खड्का कांग्रेस फाकफोकथुम गाउँपालिकाका वडा नम्बर १ का सदस्य रहेका छन्। जाहेरी परेपछि प्रहरीले उनलाई खबर गरेसँगै उपाध्यक्ष राई आफै जिप्रका इलाम पुगेकी थिइन्।

उनी पुग्ने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको थियो। ‘वहाँ हाम्रो नियन्त्रणमा हुनुहुन्छ। कानुनी प्रक्रिया अन्तर्गत कारबाही गरिने छ।’ जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा डिएसपी गङ्गाबहादुर थापाले भने। डिएसपी थापाले उनको आजै म्याद थप गर्ने प्रक्रिया अघि बढी सकेको जानकारी दिए।

मौसमी कामदार कोरिया पठाउने विषयमा लिएर उपाध्यक्ष राईले अश्लील गाली गर्दै खड्कामाथि हातपात गरेको पीडितको दाबी छ। गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच गत पुस २४ मा सम्झौता भई यहाँबाट मौसमी ट्रेनी कामदार कोरिया लैजाने सहमति भएको थियो।

गाउँपालिकाले गत फागुन १६ मा सूचना निकालेर मौसमी कामदारका रूपमा कोरिया जान चाहने युवाबाट आवेदन आह्वान गरेको थियो। कोरिया जान चाहने ४ सय ७७ युवाले युवाले गाउँपालिकामा आवेदन दिएका थिए।

तिनीहरूमध्ये एक सय ५ जना छानिने गाउँपालिकाले बताएको थियो। सोही विषयमा विवाद हुँदा पालिकाकी उपाध्यक्ष राईले खड्कालाई हातपात गरेको बताइएको छ। उपाध्यक्ष राई एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्।

 

प्रतिक्रिया दिनुहोस