Latest News

काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेसबाट उम्मेदवारी घोषणा, को हुन् मिश्र ?

Nepalese Times April 4, 2022 (2 Year ago)    2236 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट सुरेन्द्र्र्रप्रसाद मिश्रले उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेस काठमाडौं महानगरपालिका समितिका पूर्व सभापति समेत रहेका मिश्र कांग्रेसका पुराना नेता मध्येका एक हुन् ।

काठमाडौं महानगर समितिको लगातार तीन कार्यकाल पार्टी सभापति भएका मिश्रले मेयर पदमा सहयोग गर्न सार्वजनिक अपिल समेत गरेका छन् ।

आफू काठमाडौं महानगरपालिकाको मेयरमा बिजयी भए काठमाडौंलाई सफा, सुन्दर र व्यवस्थित शहरको रुपमा विकास गर्ने योजना समेत आफूसंग रहेको उनले बताएका छन् ।

नेपाली कांग्रेस काठमाण्डौं महानगरपालिका नगर कार्यसमितिको निरन्तर तीन कार्यकाल सभापति तथा संगठनका विभिन्न पदहरु र आन्दोलनहरुमा पनि आफूले कुशलतापूर्वक भूमिका निर्वाह गरेको र महानगरवासीहरुकै सेवा गर्ने उत्कट चाहानाले गर्दा अहिलेसम्म अरु कुनै पनि पदमा दावी नगरेको उनले बताएका छन् ।

उनले काठमाण्डौंको कोर एरियामा जन्मेर हुर्केको व्यक्ति भएकोले यावत् समस्याहरु आफूलाई राम्ररी जानकारी रहेको र शहरलाई कसरी सफा, सुन्दर, व्यवस्थित वनाउने भावी योजनाहरु पनि रहेकोले मेयरमा उठ्ने घोषणा गरेको उनले बताएका छन् ।

कांग्रेसमा एक इमन्दार नेताको रुपमा परिचय बनाउन सफल भएका मिश्रले विगतदेखी नै लोकतान्त्रिक आन्दोलनमा सक्रिय थिए । कांग्रेसको राजनीतिमा सक्रिय मिश्र काठमाडौंका जनताका बीच लोकप्रिय भएकाले पार्टीले समेत उनलाई मेयरको उम्मेदवार बनाउने चर्चा चलिरहेको छ ।

कांग्रेस सहित विभिन्न पार्टीबाट उम्मेदवारका आकांक्षीहरुले मेयरमा उम्मेदवारी दिने भन्दै आफ्ना योजनाहरु सार्वजनिक गर्न थालेका छन् । आफू विजयी भए आफूले गर्ने कामहरु सार्वजनिक गर्दै उनीहरुले मतदातालाई रिझाउन सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस