Latest News

यी ४ महानगरको मेयरमा कांग्रेसको आँखा, कुन महानगरमा कसको दाबी ?

Nepalese Times April 4, 2022 (2 Year ago)    1188 Views

काठमाडौं । आउँदे बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावमा सत्ता साझेदार दलहरुबीच चुनावी तालमेलको सहमति छ । स्थानीय तहको निर्वाचनमा तल्लो तहसम्मै तालमेल गर्ने पहल सुरु भएको छ ।

केन्द्रबाटै सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरेपछि जिल्ला, पालिका, वडा तहसम्मै तालमेलको प्रयास सुरु भएको हो ।

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा महानगरपालिका र उपमहानगरपालिकामा विशेष चासो देखिएको छ । त्यसमाथि पनि ६ वटा महानगरपालिकामा आकांक्षीहरुको ध्यान गएको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच तालमेल हुने भएसँगै महानगरमा दाबेदारीको बढ्न थालेको छ ।

गठबन्धनका शिर्ष नेताहरुले २०७४ को स्थानीय चुनावमा आफूले जितेको महानगरमा आफ्नो दलको तर्फबाट उम्मेदवार उठाउने विषय अगाडि सारेका छन् ।

ललितपुर र विराटनगरमा नेपाली काँग्रेस, भरतपुरमा नेकपा माओवादी केन्द्र र वीरगञ्जमा जनता समाजवादी पार्टीले जितेको थियो । काँग्रेसले ललितपुर र विराटनगरका अलावा काठमाण्डुमा समेत दाबी देखाएको छ । भरतपुरमा माओवादी र कांग्रेस दुबैले दाबी गरेको छ ।

एमालेले जितेका काठमाण्डु र पोखरामा गठबन्धनमा चासो छ । काँग्रेसले कुनै हालतमा काठमाण्डु महानगरपालिका नछाड्ने भएको छ । पोखरामा पनि काँग्रेस अन्य दलभन्दा बलियो छ । यी दुवैमा उसको दाबी देखिएको छ । बरु उपमहानगरपालिका र नगरपालिकाहरुमा मिलाउने काँग्रेसको प्रस्ताव रहेको बुझिएको छ ।

पोखरामा नेकपा एस कमजोर छ । उसले काठमाण्डुको साटो ललितपुरमा समेत चासो देखाएको छ । तर, ललितपुर यसअघि काँग्रेसले जितेको महानगरपालिका हो ।

जसपाले वीरगञ्ज छाडेर विराटनगरमा समेत दाबी गर्ने सम्भावना देखिएको छ । विराटनगरमा जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले दाबी गरेका छन् । तर, काँग्रेस जितेको महानगरपालिका छाड्न तयार छैन ।

उपमहानगरपालिकाहरुमध्ये धरान, इटहरी, जनकपुर, बुटवल, नेपालगञ्ज, तुलसीपुर, घोराही, हेटौंडा, वीरेन्द्रनगर, धनगढीमा पनि गठबन्धनबीच तालमेलको अग्रिम तयारी भइरहेको छ । नेकपा एस र जसपालाई उपमहानगरपालिकाहरुमा केही बढी सिट दिएर काँग्रेस र माओवादीले महानगरपालिकाहरुमा आफ्ना उम्मेदवारहरुलाई अगाडि बढाउन खोजिरहेका छन् ।

यस्तोमा गठबन्धनका दलहरुबीच महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाका विभिन्न पदहरुमा आवश्यकता अनुसार भागवण्डाको तयारी समेत चलिसकेको छ ।

स्रोतका अनुसार विशेषगरी ६ वटा महानगरपालिकामा नेपाली काँग्रेसले कम्तिमा ३, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले १–१ मेयर लिने मोटामोटी सहमति बनिसकेको बनिसकेको छ ।

नेपाली काँग्रेसले भने ४ महानगरपालिकामा मेयरको दाबी गर्दै आएको छ । महानगरपालिकाको साटो उपमहानगरपालिकामा लचिलो हुने काँग्रेसको प्रस्ताव रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस