Latest News

एकीकृत समाजवादीका अध्यक्ष नेपालले किन गरे प्रधानमन्त्री देउवाको विरोध ? दिए यस्तो प्रतिक्रिया

Nepalese Times April 4, 2022 (1 Year ago)    619 Views

सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टीको कार्यालयमा गएर बेठीक गरेको बताएका छन्।

विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै नेपालले देउवाले प्रधानमन्त्रीका रुपमा पार्टी कार्यालय जानु गलत भएको बताएका हुन्।

‘प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा भाजपाको पार्टी कार्यालय जानु ठीक भएन’, उनले पत्रकारहरुलाई भने।

देउवाको उक्त कदम आफूलाई व्यक्तिगत रूपमा ठीक नलागेको नेपालले बताए।

‘म पनि प्रधानमन्त्री भइसकेको व्यक्ति हुँ। देशको प्रतिनिधि भएर पार्टी कार्यालय जानु ठीक भएन’, उनले अगाडि भने, ‘पार्टीगत रूपमा भाजपाको कार्यालय गएको भए ठीकै हो, तर प्रधानमन्त्रीका रुपमा जानु राम्रो भएन।।’

यस्तै सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओली सबैका लागि घाँडो भएको बताएका छन्।

‘देशका निम्ति, लोकतन्त्र र संविधानका निम्ति केपी ओली घाँडो भइसकेका छन् नेपालले भने, ‘ओली परिवर्तनविरोधी हुन्। आगामी निर्वाचनमा वामपन्थको नाममा बर्को ओढेकालाई हराउनुपर्छ।’

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तलैसम्म गठबन्धन हुने पनि नेपालले बताएका छन्।

‘आवश्यकताका आधारमा कहाँसम्म मिल्छ, त्यहाँसम्म गठबन्धन हुन्छ,’ नेपालले भने।

 

प्रतिक्रिया दिनुहोस