Latest News

अभिनेता शिव श्रेष्ठ र भुवन केसीसहित यी कलाकारहरु राप्रपा प्रवेश !

Nepalese Times April 4, 2022 (2 Year ago)    741 Views

काठमाडौं । अभिनेताद्वय शिव श्रेष्ठ र भुवन केसीसहितका कलाकारहरु राप्रपा प्रवेश गर्ने तयारीमा रहेका छन् । उनीहरुलाई पार्टी प्रवेश गराउन प्रक्रिया सुरु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।

उनीहरुलाई पार्टी प्रवेश गराउने प्रक्रिया सुरु भएको र जतिसक्दो चाँडो उनीहरु पार्टी प्रवेश गराईने उनको भनाइ छ । पार्टी प्रवेश गराउने जिम्मा महामन्त्री धवलशमशेर राणाको वार्ता समितिलाई दिइएको छ ।

भुवनले गत शनिबार अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेर पार्टी प्रवेशबारे छलफल गरेका थिए । आफूलाई समानुपातिक सांसदको उम्मेदवार बनाउन भुवनले प्रस्ताव समेत राखेका थिए ।

यस्तै अभिनेत्री मनिषा कोइरालासँग पनि राप्रपा प्रवेश गर्नेबारे छलफल भइरहेको बताइएको छ । राष्ट्रवादी शक्तिहरुबीच एकता र सहकार्य गर्नेबारे कुराकानी भएको र त्यही अवधारणाअनुसार मनिषा कोइरालासँग कुराकानी अघि बढेको शाहीले बताए ।

यस्तै चर्चित अभिनेता निखिल उप्रेती पनि राप्रपा प्रवेश गर्ने तयारीमा रहेका स्रोतले जनाएको छ । यसअघि हिन्दू राष्ट्र र एकीकृत नेपालको नारासहित एकीकृत शक्ति नेपाल नामक मोर्चामा रहेका उनी केही दिनमै राप्रपा प्रवेश गर्ने तयारीमा रहेका स्रोतले जनाएको छ ।

हिन्दू राष्ट्र र एकीकृत नेपालको नारा राप्रपासँग मेल खाने र उदेश्य एउटै भएकोले यो मुद्धामा सहमत हुने सबै एकताबद्ध हुनुपर्ने निर्णयसहित उनी राप्रपा प्रवेशको तयारीमा रहेका हुन् ।

केही महिनाअघि मात्रै पत्रकार देवप्रकाश त्रिपाठी संयोजक रहेको यो मोर्चालाई अभिनेता निखिल उप्रेतीले घोषणापत्र पढेर सुनाएका थिए । यो मोर्चालाई भविष्यमा राजनीतिक दलको रुपमा गठन गर्ने तयारी भैरहेको भनिएको थियो ।

मोर्चाको सक्रिय सदस्यको रुपमा निखिल समेत रहेका थिए । अभिनेत्री मनीषा कोइरालालाई पनि समूहमा ल्याउने प्रयास भएको थियो । तर कोइरालासमेत राप्रपामा जाने तयारी भएसँगै अभिनेता उप्रेतीसमेत राप्रपा प्रवेश गर्ने तयारी भएको स्रोतले जनाएको छ ।

यस्तै कलाकार दीपकराज गिरीको बारेमा सार्वजनिक भएको एउटा खबरले उनलाई निक्कै तनाव बनायो । केही दिनअघि माओवादी केन्द्र प्रवेश गरेको भनेर प्रकाशित भएको खबरले उनलाई धेरैले फोनसमेत गरे ।

अहिलेसम्म आफू कुनै पनि पार्टीमा प्रवेश नगरेको कलाकार दीपकराज गिरीले बताएका छन् । आफू माओवादीमा प्रवेश भएको समाचारको हेडलाइन आएको र त्यसलाई हेरेर फोन र म्यासेज आएर हैरान भएको उनले प्रतिक्रिया दिएका हुन् ।

शुक्रबार राति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गिरीले माओवादीमा प्रवेश भनेको हेडलाइन मात्रै हेरेर फोन र म्यासेज आएर हैरान परेको जानकारी गराएका हुन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘म कहिँ गा छैन म कुनै एक पार्टीको होइन सबै पार्टीको हूँ’ पछिल्लो समय कलाकारहरुको पार्टी प्रवेशको चर्चा चलिरहेको प्रसंगसँग उनको नाम जोडिएर समाचारहरु आएका थिए । केही समय अघि उनले माओवादीको पक्षमा एक स्टाटस लेखेका थिए ।

खासमा दिपकराज गिरिसंग नाम मिलेर समाचार बाहिर आउँदा यो समस्या आइपरेको हो । समाचार के थियो भने, एमाले जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका सदस्य दिपकराज गिरि नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

उनलाई माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताले पार्टीमा स्वागत गराएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा उनलाई स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस